भक्तपुर, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक टोलीलाई आइतबार स्वागत गरेको छ। भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रमुख प्रवेशद्वार खौमामा विदेशी पर्यटक टोलीलाई खादा तथा पुष्पगुच्छा, भादगाउँले टोपी, मयूर झ्यालसहित स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाको अवलोकन गर्न आउने पर्यटकलाई सुरक्षित र पर्यटकमैत्री वातावरण उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । उनले विश्व पर्यटन दिवसको अवसरमा आइतबार सांस्कृतिककर्मी सम्मान कार्यक्रमसमेत आयोजना गरिएको जानकारी दिँदै भक्तपुर भ्रमणका क्रममा यहाँका कला, संस्कृति तथा सम्पदाबारे अन्तर्राष्ट्रिय जगतमा प्रचार-प्रसार गर्न पर्यटकहरूलाई आग्रह गरेका छन् । स्वागतपछि पर्यटक टोलीका प्रतिनिधिले भक्तपुर नगरपालिकाले गरेको स्वागतप्रति धन्यवाद व्यक्त गरेका छन्।
भक्तपुर नगरपालिकाको वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले विश्व पर्यटन दिवसको अवसरमा हरेक वर्ष भक्तपुरमा आउने पहिलो विदेशी पर्यटक टोलीलाई स्वागत गर्दै आएको बताएका छन् । उनले भक्तपुरको पर्यटन प्रवर्द्धनका लागि भक्तपुरबासी एकजुट भएर भक्तपुरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिरहेको उल्लेख गरे ।
आइतबार स्वागत गरिएको विदेशी पर्यटक टोलीमा चीनका १८ जना र ताइवानका १ जना गरी १९ जना पर्यटक रहेका थिए।
कार्यक्रममा आरम्भ ले धाः बाजा प्रस्तुति दिएको थियो। त्यसैगरी गणेश दाफा भजन, वडा नं. १ ले माक प्याखं तथा हनुमान प्याखं प्रस्तुत गरेका थिए।
तस्बिर : भक्तपुर नगरपालिका ।







