सम्यक् महादान मूल समारोह समिति घोषणा : काठमाडौंमा २२ वर्षपछि माघ १ गते महादान हुने 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ‘सम्यक् महादान मूल समारोह समिति’ घोषणा भएको छ । महानगरपालिकाले विभिन्न संघ, बिहार, बहाल तथा गुठीको प्रतिनिधित्व र सहभागिता हुने गरी ३०१ सदस्यीय समिति घोषणा गरेको हो । आउँदो माघ १ गते स्वयम्भूको भुइँखेलमा महादान पूजा आयोजना हुनेछ । हरेक १२ वर्षमा हुनु पर्ने तर, २२ वर्षदेखि हुन सकेको थिएन । यस अघि ऐच्छिक गुठीमार्फत आयोजना गर्ने गरिएको तर, रोकिएको महादान आयोजना गर्न समुदाय स्तरबाट कठिन हुने ठाउँमा पुगेपछि अमूर्त सम्पदा बचाउन तथा पुस्तान्तरण गर्न महानगरपालिकाले महादान आयोजना गर्न लागेको हो । मुख्य दुई दिन मनाइने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुँइखेलमा मनाइने परम्परा छ । महादान २०६१ साल पछि काठमाडौँमा मनाउन सकिएको छैन ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको घोषणा कार्यक्रममा गठित समितिको संयोजकमा नेपाल बज्रयान महाबिहार लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्य छन्। यस्तै, महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, महादान हुने वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महाविहार संघ, काठमाडौँका अध्यक्ष शुभकाजी शाक्य, उराय् समाज, काठमाडौँका सदस्य डा. सुमनकमल तुलाधर सहसंयोजक छन्। मूलश्री महाबिहार काठमाडौंका समज्वल बज्राचार्य मूल समारोह समितिका सदस्य सचिव छन् ।

यस्तै, कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ । समितिको उपाध्यक्षमा प्रा. डा. नरेशमान बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरुमा ईश्वरमान डंगोल, आशामान संगत, न्हुच्छेकाजी महर्जन, राजेशकुमार श्रेष्ठ, राजेन्द्र मानन्धर, मचाराजा महर्जन, विनोद कुमार राजभण्डारी, राजेश डंगोल, योगेश खड्गी छन् ।यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख, महानगरपालिकाका प्रशासन विभाग, वित्त विभाग, स्वास्थ्य विभाग, वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलका प्रमुख सदस्य छन् । समितिमा शाक्य महाविहार संघ काठमाडौंका अध्यक्ष शाक्य, उराय समाज काठमाडौंका सदस्य डा. तुलाधर, मूलश्री महाबिहारबाट बज्राचार्य, मञ्जुश्रीरत्न बज्राचार्य, संघरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य सदस्य छन् । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने यस समितिमा प्रमुखले ९ जना सदस्य तोक्नेछ ।

कार्यान्वयन समिति मातहतमा रहेर क्षेत्रगत काम गर्नका लागि १३ वटा उपसमिति गठन भएका छन् । यसमा मञ्जुश्री रत्न बज्राचार्यको संयोजकत्वमा पुजा, दान, दाता उपसमिति गठन भएको छ । संघरत्न शाक्यको संयोजकत्वमा देवता निमन्त्रण उपसमिति, डा. सुरेन्द्रमान बज्राचार्यको संयोजकत्वमा अभिलेखीकरण तथा प्रकाशन उपसमिति गठन भएको छ ।

अन्य उपसमितिहरुमा सम्यक् भोजन व्यवस्थापन उपसमिति, स्थान व्यवस्थापन उपसमिति, स्वयमसेवक परिचालन उपसमिति, यातायात तथा ढुवानी उपसमिति, सांस्कृतिक उपसमिति, स्वास्थ्य उपसमिति, प्रचारप्रसार उपसमिति, आर्थिक उपसमिति, सुरक्षा उपसमिति, खाजा तथा खाना व्यवस्थापन उपसमिति छन् । यी उपसमितिका संयोजकहरु तोक्न बाँकी छ ।
‘परम्परागत रुपमा सञ्चालन गर्नु पर्ने महादानलाई पुनःजीवन दिने र पुस्तान्तरण गर्ने लक्ष्यसहित हामी अगाडि बढेका छौँ,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘मेरो पुस्ताले सम्यक् देखेको छैन । मभन्दा पछिको पुस्ताले देख्ने कुरै भएन । यसरी पुस्ता पुस्ताले देख्न नपाउने अवस्थामा पुगेका हाम्रा मौलिक परम्परा बचाउने दायित्व लिएका हौँ ।’ मूर्त सम्पदालाई जीवन दिने अमूर्त परम्परा थाहै नपाइ हराउँदै जाने विगतलाई सच्याउँदै जानु पर्ने उनी बताउँछिन् ।

बौद्धहरुले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रुपमा समावेश हुन्छ । नेपालमा दान अभ्यासका लागि नियमित वार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान, निश्चित अन्तराल पछि गरिने महा सम्यक् दानहरु पर्व कै रुपमा मनाइँदै आएका छन् । साथै यी दानहरु नीजि तजविजमा ऐच्छिक रुपमा समर्थवान् श्रद्धालु व्यक्तिहरुले आयोजना गर्ने गरेको विगत अभ्यास हो ।

यी विभिन्न प्रकारका दान चर्याहरु मध्ये ‘सम्यक् महादान’ सबभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ । महादानको मुख्य दिनमा सहरका सबै दीपङ्कर बुद्ध (देवमूर्तिहरु) लगायत प्रायः सबै प्रमुख बौद्ध मन्दिरहरुका देव, देवीहरुलाई निमन्त्रणा गरी विराजमान गराउनु पर्ने, पूजापाठ अर्पण गर्नुपर्ने, दान दक्षिणा चढाउनु पर्ने, राष्ट्र प्रमुखको उपस्थितिको अनिवार्य व्यवस्था गर्नु पर्ने, साथै आएजति संघ अर्थात् नेपाल मण्डलका श्रद्धेय बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु, चैलक भिक्षुहरु सबैलाई उत्तिकै उत्साहका साथ निर्धारित उपयोगी वस्तुहरु पूर्ण तयारीका साथ दान अर्पण गर्नु पर्छ ।

सम्यक् महादानका मुख्य आकर्षण बुद्धवंश साहित्यमा उल्लेख भएका २८ मानुषी बुद्धहरु मध्ये चौथो बुद्ध दीपङ्कर हुन् । यिनै बुद्धका समयदेखि नेपालमा दान पर्व चलिआएको जनविश्वास छ । यससँग सम्बन्धित कथालाई दान चर्या गर्दा स्मरण गरिन्छ । सम्यक् दानको बेला ठुलो संख्यामा लस्करी प्रदर्शनमा राखिने दीपङकर बुद्धका धातु मूर्तिहरु विशेष रुपले शोभायमान गरिन्छ । यो शोभा उत्सव स्वदेश तथा विदेशमा निकै चर्चित छ । साथै, राष्ट्र प्रमुखको उपस्थिति हुनु, अनेकौँ बौद्ध देवदेवीहरुको एकै स्थानमा एकत्रित गरिनु, बौद्ध संघ सदस्यहरु भेला हुनु, ती आराध्य वस्तु र अर्पण गरिने विभिन्न तरहका अमूर्त श्रद्धा भाव, दान कार्य प्रस्तुतीकरण आदि सम्यक् महादानका थप आकर्षण हुन् । महान बौद्ध दान ‘सम्यक महादान’ नेपालको प्राचीन मौलिक परम्परा हुँदाहुँदै काठमाडौंको सांस्कृतिक पहिचान पनि हो । यो तत्कालीन उपत्यकाबासीहरुका सामूहिक सहकार्यको अनुपम नमूना पनि हो । यो पर्व कुनै बेला काठमाडौं नगरको वैभवताको प्रतीक थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...