काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले पुनःनिर्माण सम्पन्न गरेको उक्त चौघेरा सत्तलको बिहीबार कार्यवाहक प्रमुख सुनिता डंगोलले समुदघाटन गरेकी छन् । २०७२ वैशाखको भूकम्पका कारण जीर्ण बनेको सत्तल पुन:निर्माणका लागि २०८१ मंसिर २४ गते शिलान्यास भएको थियो । ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको हो ।
सत्तल समुद्घाटन अवसरमा बोल्दै कार्यवाहक डंगोलले पुननिर्मित संरचनालाई आफूले बनाएको घर जत्तिकै जतनका साथ संरक्षण गर्नुपर्ने बताइन् ।
कार्यक्रममा धारणा राख्दै पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले, सांस्कृतिक सम्पदा संरक्षण अभियानमा महानगरपालिकाले ठोस काम सम्पन्न गरेको बताएका छन् । यस्तै गुठी संस्थानका उपप्रशासक राजेन्द्र दाहालले, महानगरपालिकाको लगानीबाट सत्तलले भव्यता प्राप्त गरेको बताए । नवनिर्मित सत्तल महानगरपालिकाले संस्थानलाई हस्तान्तरण गर्ने अपेक्षा राखेको उनले बताए ।
महानगरपालिकाले गरेको कामबाट समुदाय हर्षित भएको र हाम्रा नित्य क्रियाकलापमा सघाउ पुगेको मन्दिरका मुल पुजारी दिपकहर्ष बज्राचार्यले बताएका छन् ।
सत्तल पुननिर्माणका लागि १० करोड १० लाख ७९ हजार २७९ रुपैयाँ लागत अनुमान गरिएको थियो । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको विनायक/एसपि/बोहोरा जेभिले १० करोड ५ लाख १० हजार ६१९ रुपैयाँ कबोल गरेर पुनःनिर्माणको जिम्मेवारी पायो । निर्माण कार्य थालिएपछि गरिएको भेरिएसनबाट ८ करोड ९७ लाख ३१ हजार ६४७ रुपैयाँमा पुनःसम्झौता गरिएको थियो ।
वि. सं. १९९७ सालमा खिचिएको तस्विरका आधारमा पुननिर्माण गरिएको चौघेरा सत्तलमा परम्परागत निर्माण सामग्री र शैली अपनाइएको छ । डाँछी अपा इटा,ढोका सहित संरचनाका विभिन्न स्थानमा काठको प्रयोग, झिँगटीको छानो, परिसरमा फ्लागस्टोन र भुइँमा तेलिया इटाको प्रयोग, पश्चिम र पूर्वतर्फको जगमा सुरक्षा संरचना, विद्युत जडान, भित्ता र काठमा रंगरोगन, ढल र म्यानहोलसहित परिसरबाट पानीको निकास लगायत काम भएका छन् ।
सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलमा पुननिर्माण भएको हो । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा छन् । पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष छन् । यस माथि बुइँगल छ । मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल छ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार छ
नेवार तान्त्रिक परम्परा, बौद्ध र हिन्दू धर्माबलम्बीहरुका साझा देवता काल भैरवका रुपमा चिनिने महाङ्काल आजभन्दा करिब १ हजार ३०५ वर्ष (सातौँ या आठौँ शताव्दी) मा स्थापना गरिएको मानिन्छ ।
मन्दिरका पुजारी दिपकहर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब १ हजार ३०५ सय वर्ष अगाडि निर्माण भएको हो । मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती बताउँदै उनले भगवान शिवको आकाश यात्रा र तान्त्रिक शाश्वत बज्रसँग मन्दिर स्थापनाको कथा जोडिएको बताएका छन् । ‘शाश्वत बज्र मन्त्रसिद्धि महाबिहार (सवल वहाल) मा घाम तापेर बसिरहेका बेला सबैतिर घाम थियो तर उनले बसेको ठाउँमा घामको प्रकाश छेकियो । घामको ताप कसरी छेकियो भनेर साधनाबाट हेर्दा आकाशमा ठूलो आकारको शक्ति देखियो । यो शक्तिलाई उनले तान्त्रिक शक्तिले खिचेर तल ताने । तल आएपछि उनलाई थाहा भयो कि तानेको शक्ति त शिव शक्ति रहेछ । दुष्कर्म गर्नेहरुको संहार गरेर घाँटीमा टाउकाको माला लगाएर आकाश मार्गबाट शिव तिब्बततर्फ गइरहनुभएको थियो । यो देखेर तान्त्रिकले नेपाल मण्डलमा पनि जनतालाई दुःख, महामारी र समस्या भएकोले यहाँका सबैको सुख शान्तिका लागि यतै बसिदिन आग्रह गरे । तान्त्रिकको आग्रहमा शिवले काठमाडौं काँशी जत्तिकै शुद्ध नभएकोले बस्न नसक्ने अड्को थाप्नुभयो । यो सुनेपछि तान्त्रिक शक्तिबाट गंगा र विश्वनाथलाई काठमाडौं आव्हान गरियो । यसबाट गंगा र विश्वनाथ काठमाडौँ आउनुभयो । उहाँहरुलाई मन्दिर अगाडि पोखरी र विश्वनाथको मन्दिर बनाएर राखियो । (अहिले पोखरी नासिएर सैनिक अस्पताल बनेको स्थानीय पाका मानिसहरुको भनाइ छ ।) त्यसपछि शिव बस्न राजी त हुनुभयो । तर, आफूले तीन त्रिभुवनको अवस्था बुझ्नु पर्ने भएकोले सधैँ यहीँ बसिरहन नसक्ने बताएर आफू हरेक मंगलबार र शनिवार चाहिँ आउने बताउनुभयो । यही सहमतिमा महाङ्काल मन्दिर स्थापना गरिएको मानिन्छ ।
पहिले त मंगलबार र शनिबार मात्र मन्दिरमा श्रद्धालु आउने गर्दथे । अहिले सबै दिन आउँछन् । शाश्वत बज्रले खिच्दा महाङ्काल पुरानो बसपार्कबाट पुतलीसडक जाने सडक खण्ड अद्व्रैत मार्गमा आएको बताइन्छ । प्रहरी कार्यालयसँगै अहिले महाङ्कालको सानो मन्दिर रहेको छ । यहाँबाट टुँडिखेलका छेउमा सार्नुको कारण पनि खोजीको विषय बनेको छ ।
यो घटनासँग चिनियाँ भविष्यवाणी र गाडिएको मूर्तिको प्रसङ्ग पनि भन्ने गरिन्छ । जसअनुसार, एक जना चिनियाँ तान्त्रिकले भविष्यमा महाङ्काल नेपाल आउनेछन्, भनेका थिए । नेपाल आउने महाङ्काललाई नेपालमै राख्न नेपाली तान्त्रिकहरुले महाङ्कालको मूर्ति बनाएर माटोमा गाडिदिए । जब महाङ्काल आकाशको बाटो हुँदै यात्रा गरिरहेका थिए । त्यसबेला शक्तिका कारण उनी हावामै राकिए । यही कारण उनी नेपाल बस्न बाध्य भए । लोककथन यस्ता अनेक छन् । जे भए पनि यहाँ हिन्दू र वौद्ध धर्मावलम्बीहरुले आस्थापूर्वक पूजा आराधना गर्ने गर्नुहुन्छ । बौद्धमार्गी तिव्वतियनहरुका लागि यो तीर्थ स्थल नै हो । माडवारी समुदायले शनिदेवका रुपमा महाङ्कालको पूजा गर्ने गर्दछन् । महाङ्कालको दर्शन गरे जीवनमा संकटको समय आएका व्यक्तिहरुले दुःख, पीडा र समस्याबाट छुटकारा पाउन सक्छन् भन्ने विश्वाश छ । खराव कर्मको प्रायश्चित गर्दै सुधारको बाटोमा लाग्ने आशीर्वाद प्राप्त गर्न श्रद्धालुहरु मन्दिरको दर्शन गर्न आउँछन् । संकटाको दर्शनपछि महाङ्कालको दर्शनबाट अधिक लाभ हुने श्रद्धालुहरुको विश्वाश पाइन्छ ।






