हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने सवारीसाधनमा बुधबार बेलुकादेखि टाइमकार्ड लागू गरिएको छ । दसैं-तिहारको चाडपर्वमा यात्रु र सवारीसाधनको चाप बढ्ने र धेरै ट्रिप गर्ने उद्देश्यले तीव्र गतिमा सवारीसाधन कुदाउने भएकाले टाइमकार्ड लागू गरिएको हो । टाइमकार्डअनुसार भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी, फाखेल, फर्पिङ र दक्षिणकालीमा सवारीसाधनका चालकले टाइमकार्ड देखाउनुपर्नेछ । टाइमकार्डअनुसार सवारीसाधन सञ्चालन नगरेमा चालकलाई कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।
चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरि करिब साढे ७ सय जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना कार्यान्वयन गर्न ७ सय २९ जना प्रहरी परिचालन गरेको हो । जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी सुरक्षा टोली परिचालन गरिएको छ । बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढ्ने अवस्थालाई ध्यानमा राखेर राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको उनले बताए ।
यात्रुहरूको सहजताका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षमार्फत बढी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई यात्राका क्रममा पर्न सक्ने समस्याको समाधानमा सहजीकरण गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट र ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने जनाइएको छ । सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १० वटा मोबाइल गस्ती टोली परिचालन गरिएको छ । तत्काल प्रहरी सहायता आवश्यक पर्ने स्थानमा छिटो पुग्न मोटरसाइकलसहितका द्रुत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली तथा पैदल गस्तीको समेत व्यवस्था गरिएको छ ।
चाडपर्वका समयमा बजार क्षेत्रमा हुने भीडभाड, चोरी, लुटपाट तथा जुवातासजस्ता गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित चोरी तथा लुटपाटका घटना रोक्न निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद काफ्लेले बताए ।
चाडपर्वमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनको व्यवस्था मिलाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय र प्रदेश राजधानीमा रहेका विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएको छ ।
सवारी दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोली तयारी अवस्थामा राखिएको छ । कुनै स्थानमा घटना हुँदा परिचालित जनशक्ति अपुग भएमा थप परिचालन गर्न दुईवटा रिजर्भ टोलीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







