ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८ जना घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस एक्कासी फ्लाईओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। बसमा अन्दाजी ३० जना सवार थिए । दुर्घटनामा दोलखा शैलुङ गाउँपालिका घरभई भक्तपुर सूर्यविनायक बस्ने ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ।
घाइते १८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल तथा ग्लोबल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घरभई भक्तपुर मालपोत क्षेत्रमा बस्ने ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार रामेछाप घरभई भक्तपुर सुर्यविनायक बस्ने २३ वर्षीया सुन्निमा योन्जन, कञ्चनपुर घरभई भक्तपुर बस्ने २४ वर्षीय तुल्सी धानुक, भक्तपुरकी ४० वर्षीया कबिता कार्की, सिन्धुली मरिन गाउँपालिका-३ घरभई भक्तपुर बस्ने ३३ वर्षीय धन कुमार ढोङ, मध्यपुर थिमी-६ की ३७ वर्षीया लक्ष्मी श्रेष्ठ, चागुनारायण नगरपालिका- ७ सरस्वतीखेलकी २४ वर्षीया रशिला दुलाल, सरस्वतीखेलका ६० वर्षीय कृष्णराम थापा (सह-चालक) र काभ्रे बनेपा नगरपालिका-१४ घरभई भक्तपुर सरस्वतीखेल बस्ने ४१ वर्षीया अमृता कार्की र ललितपुर महालक्ष्मी नगरपालिका-५ कि ४० वर्षीया कविता के.सी.को बि एण्ड बि अस्पताल ग्वार्कोमा उपचार भईरहेको छ ।
त्यसैगरी, दोलखा घरभई भक्तपुर सुर्यविनायक बस्ने २४ वर्षीय बिबेक दाहाल, सिन्धुली घरभई सुर्यविनायक बस्ने १९ वर्षीया भगवती खत्री, सूर्यविनायक मिलनचोकका ४७ वर्षीय चन्दानाथ सिंह, भक्तपुरकी २८ वर्षीया जुनु सिल्पकार, ललितपुर महालक्ष्मीस्थानकी ४९ वर्षीया तुल्सी देवी खड्का, मोहत्तरी घरभई गठ्ठाघर बस्ने २१ वर्षीया अन्जु साह, काठमाडौं ठमेल घरभई सुर्यविनायक बस्ने २७ वर्षीय आशुतोष श्रेष्ठ, सिन्धुपालचोक घरभई ललितपुर भैंसेपाटी बस्ने ३६ वर्षीय स्तर देउजा र भारतीय नागरिक कौशलटार बस्ने ४५ वर्षीय मोहम्द समिमको ग्लोबल अस्पताल ग्वार्को ललितपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।






