झापा, १३ साउन । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका-९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । कार चालकले नै उनलाई सोही गाडीमा अस्पताल पुर्याएका थिए । शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । कार र चालक झापा बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४६ वर्षीय मदन प्रसाईंलाई नियन्त्रणमा लिईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






