अनौपचारिक क्षेत्रका मजदुर(कर्मचारी)को सामाजिक सुरक्षा

Date:

Share post:

Changunarayan Nagarpalika

सत्यराम कासिछ्वा
नेपालबाट झण्डै एक करोड श्रम गर्ने जनशक्ति शिक्षा तथा रोजगारीको नाममा विदेश पलायन भइसकेका छन् । देशभित्रको खनिज, वनस्पति, जडीबुटीलगायत अन्य प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गर्ने र गराउने वातावरण सिर्जना नहुँदा वर्षको कानुनी र गैरकानुनी रूपमा लाखौंलाख युवा बिदेसिए छन् । आर्थिक तथा सामाजिक क्षेत्रको विभिन्न तहमा रोजगारी पाएका श्रमिक (कर्मचारी)हरू समेत नेपालको श्रम तथा सेवा क्षेत्रको सही व्यवस्थापन र मर्यादित नभएको र विदेशको जस्तो तलब नभएको निहुँमा देश छाड्ने प्रवृत्ति बढेको छ । यसमा डाक्टर, इन्जिनियर, पाइलट, नर्सिङ, वकिल, शिक्षक जस्ता दक्ष तथा योग्य एवं सक्षम जनशक्तिलगायत अन्य श्रमिक तथा मजदुरी गर्ने अर्धदक्ष जनशक्ति रहेका छन् । यसरी विदेश पलायन हुँदा अन्य अनौपचारिक क्षेत्रका श्रमिक(कर्मचारी) र नयाँ पुस्ताको हालत कस्तो होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।

नेपालमा ७५ प्रतिशतभन्दा बढी अनौपचारिक अर्थतन्त्रमा रहेका व्यवसायले विशेष गरेर दैनिक ज्यालादारीमा काम गर्ने रोजगारीको सिर्जना गरेको पाइन्छ । जहाँ सरकारी योजनाको पहुँच नहुँदा ज्यालादारी मजदुरको लामो समयसम्म रोजगार हुने अवसर नै हुँदैन । तर औपचारिक क्षेत्र जस्तै बैंक, संग्रहालय, न्यायलय, विमानस्थल, विधत प्राधिकरण, खानेपानी संस्थान, टेलिकम, अस्पताल, विद्यालय जस्ता सरकारी संघसंस्थानमा काम गर्ने निजामती, शिक्षक जस्ता राष्ट्रसेवक भन्ने कर्मचारीहरुले ग्रेड रकमसहित आजीवन स्थायीत्वसँगै पोशाक भत्ता तथा महंगी भत्ता, चाडपर्व खर्च रकम, संचयकोषलगायत आजीवन पेन्सन पाउँदा समेत जनताको काममा ढिलासस्ती, विभिन्न बहानामा नियमविनियममा टेकेर विदा दिनगन्तीको आधारमा लिने प्रवृति बढ्दो छ ।
नेपालमा परम्परादेखि अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान दिई खेती किसानी गर्दै आएका कृषकलाई अनौपचारिक अर्थतन्त्रको रूप दिई सरकारले कृषकमाथि अन्यायपूर्ण विभेद गरेको छ । जीवनको ९० प्रतिशत खेती किसानीमा लागेको ती कृषक तथा सामान्य एवम् अनाैपचारिक मजदुरको बाँच्न पाउने मौलिक हक अधिकार सुनिश्चित छैन । विगतमा त्यहीँ कृषिबाट आर्थिक र सामाजिक रूपमा सुरक्षित भई देश र जनताको जीवनलाई चलायमान बनाउन खेतीकिसानी गर्ने कृषकप्रति राज्यको सम्मान र सहयोग पनि हुन्थ्यो ।
अहिले आधुनिकता तथा सेवा क्षेत्रको नाउँमा सेना, प्रहरी, निजामती, शिक्षक जस्ता सेवा क्षेत्रका कर्मचारीलाई स्थायीत्वसँगै पेन्सन तथा ग्रेड एवं महँगी तथा पोशाक भत्ता एवम् चाडपर्व खर्चको आजीवन सुविधाको व्यवस्था गरेर कुनै किसिमको सम्झौताबिना कृषकको निःस्वार्थी सेवालाई अवमूल्यन गरिरहेको छ । जसको प्रतिफल आज कृषि क्षेत्रमा काम गर्ने कृषकलाई हेलाँको दृष्टिकोणले हेरिरहेको छ । व्यापार, व्यवसाय, निर्माण तथा वस्तु उत्पादन सेवामा संलग्न अनौपचारिक अर्थतन्त्रका मजदुरको पीडा र समस्या कृषकको जस्तै मिल्दोजुल्दो छ ।

हरेक श्रमिक(कर्मचारी)ले आठ घण्टा काम गर्नुपर्ने अन्तर्राष्ट्रिय नीतिनियम तथा मापदण्ड अनुरूप औपचारिक क्षेत्रका मजदुरले प्रचलित कानुनबमोजिम श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान, ग्रेड रकम, महँगी तथा पोशाक भत्ता एवम् चाडपर्व खर्चको आजीवन सुविधा तथा कार्यालय समयमा चियानास्ता पाउने, जाडोमा हिटर, गर्मीमा पंखा चलाउन पाउने तथा दिनगन्तीको आधारमा बिदा लिन पाउने जस्ता सेवासुविधासहित जम्मा छ घण्टा पनि राम्ररी काम गरिरहेका छैनन् । तर अनौपचारिक क्षेत्रका मजदुरले घामपानी, जाडोगर्मी, हिलोमैलो केही नभनी दैनिक १० देखि १५/१६ घण्टा काम गर्दासमेत औपचारिक क्षेत्रका मजदुरको जस्तो सेवा सुविधा पाउने सपना मात्रै देख्छन् । राज्य र समाजले पनि तिनीहरुलाई फरक नजरले हेर्ने हुँदा त्यस्तो सेवा सुविधाबाट वञ्चित गरिएको हुन्छ ।
अनौपचारिक क्षेत्रका मजदुरको रूपमा रहेका कृषक संसारकै उत्पादनको एक मात्र सक्रिय जनशक्ति वा स्रोतसाधन हो । संसारमा कृषकबिना वस्तु तथा सेवाको उत्पादन असम्भव छ । कृषकले उत्पादनमा लगाएको श्रमको हिस्साको रूपमा पाएको ज्यालाबाट परिवारको दैनिक गुजारा चलाएको हुन्छ । कृषक आफ्नो जीवनकालभरि नै उत्पादनमा सक्रिय भएका हुन्छन् । तैपनि उसले कुनै प्रकारको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने मौका नै पाउँदैन । जसलाई हामीले उत्पादनशील श्रमिकका रूपमा परिभाषित गरी सम्मान गर्नुपर्छ ।
कुनै पनि देशको सामाजिक र आर्थिक विकासमा उत्पादनशील, उद्यमशील वा अनौपचारिक श्रमिकको महत्वपूर्ण भूमिका रहन्छ । तिनीहरू शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपले सुरक्षित भएमात्र उनीहरूबाट राष्ट्रले चाहेको लाभ लिन सकिन्छ । औपचारिक श्रमिकभन्दा अनौपचारिक श्रमिकले हरबखत सामाजिक सेवामा निरन्तर कुनै न कुनै रूपमा लागेका हुन्छन् । तैपनि अनौपचारिक श्रमिकलाई कसैले पनि सम्मान दिन सकेको छैन ।
अनौपचारिक तथा उत्पादनशील क्षेत्रका श्रमिकले कुनै प्रकारको उमेर हद नमानी रोगव्याधि, महामारी तथा जस्तोसुकै दुर्घटना हुँदासमेत परिवार पाल्न उत्पादन तथा निर्माण, व्यापार व्यवसायमा निरन्तर लागेका हुन्छन् । जस्तोसुकै व्यवस्था पनि आफ्नै आर्थिक लगानी गरी स्वरोजगार हुँदै विभिन्न किसिमका शारीरिक मानसिक तथा आर्थिक जोखिम मोलेर तिनीहरूले देश र समाजप्रति गरेको अप्रत्यक्ष उक्त सेवालाई सरकारले क्षतिपर्तिसहित पेन्सन दिएर सम्मान गर्न सकेको छैन ।

औपचारिक क्षेत्रका श्रमिक(कर्मचारी)लाई उमेर हद मानी रोगव्याधि, महामारी तथा जस्तोसुकै दुर्घटनामा आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभूति स्वरूप ग्रेड, महँगी भत्ता, पोशाक भत्ता, बिदा एवम् चाडपर्व खर्चको आजीवन सुविधालगायत पेन्सनको सुविधा दिँदै सुरक्षित बनाएको छ । तिनीहरू आजको कामलाई भोलिवाद प्रवृत्ति अपनाई पुस्तौँपुस्ताका लागि सम्पत्ति जोड्न भ्रष्टाचारीसमेत भएको छ । साथै देश र समाजप्रति गर्नुपर्ने जिम्मेवारीबोधबाट टाढा भाग्न अनेकौँ बहानाबाजी गर्ने परिपाटीले जनता आजित भएका छन् ।

गणतान्त्रिक तथा सङ्घीयतासहितको प्रजातान्त्रिक देशमा औपचारिक क्षेत्रका श्रमिक(कर्मचारी)को कुनै आर्थिक लगानी वा शारीरिक जोखिम मोल्नुपर्ने अवस्थासमेत छैन । औपचारिक श्रमिकबाट सुरु गरिएकोमा सामाजिक सुरक्षा कोष परिवर्तन गरेर कृषिलगायत उत्पादनको क्षेत्रमा आफ्नो आर्थिक लगानी गरेर स्वरोजगार हुँदै विभिन्न किसिमका शारीरिक मानसिक तथा आर्थिक जोखिम मोल्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई अब प्रमुख प्राथमिकता दिनुपर्छ । एकातिर तिनीहरू सरकारी र त्यसका सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा नरहँदा कानुनी रूपमा दर्ता नभएकाले लामो समयदेखि कानुनबमोजिम सेवा सुविधाप्राप्त सकिरहेको छैन भने अर्कोतिर सरकार मुखदर्शक भई रेमिट्यान्सको लोभमा वैदेशिक रोजगारमा संलग्नलाई सामाजिक सुरक्षाकोषमा छनोट गर्ने गरेको छ ।
नेपालमा सामाजिक सुरक्षाकोष २०७५ मङ्सिर ११ देखि केही सङ्गठित निजी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाकोषमा सूचीकृत गरियो भने २०७९ चैत आठदेखि वैदेशिक रोजगार र स्वरोजगारका श्रमिकलाई पनि सामाजिक सुरक्षाकोषमा सूचीकृत गरिएको छ । तैपनि बहुसङ्ख्यक कृषक, ज्यालादारी मजदुर जस्ता अनौपचारिक श्रमिकलाई उक्त सामाजिक सुरक्षा कोषमा समेट्न सकेको छैन ।

२०७२ मा जारी संविधानले समतामूलक समाज समाजवादउन्मुख राजनीतिक तथा आर्थिक प्रणाली स्थापनाका लागि हरेक श्रमिकको सामाजिक सुरक्षासहितको अधिकार प्रयोग गर्न पाउने परिकल्पना गरेको छ । सामाजिक सुरक्षाकोषले नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर तथा सहुलियत र बिनाभेदभाव सम्मान पाउने वातावरण बनाउँछ । उत्पादनशील तथा अनौपचारिक श्रमिक शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक रूपमा सुरक्षित हुँदा उत्पादन र उत्पादकत्वमा वृद्धि भई उचित प्रतिफल उत्पादक वा अन्य रोजगारदाताले प्राप्त गर्ने भएकाले ती उत्पादनमूलक क्षेत्रमा काम गर्ने जस्तोसुकै तहको श्रमिकलाई राज्यले पेन्सनलगायत अन्य शीर्षकको भत्ताको व्यवस्था गरिनुपर्छ ।

निश्चित शैक्षिक योग्यतासहित सेवा क्षेत्रमा काम गर्ने औपचारिक वा सेवा क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रदान गर्ने तलबबाहेक ग्रेड रकम, महँगी तथा पोसाक भत्ता तथा पेन्सनको खर्च सरकारले धान्न नसक्ने अवस्थामा वैदेशिक ऋण तथा अनुदान माग्नु परेको अवस्था छ । उत्पादनशील तथा अनौपचारिक श्रमिकले देशको विकास र समृद्धिका लागि आफ्नो भएको शैक्षिक योग्यतासहित विभिन्न तालिममा सहभागीसमेत भएका हुन्छन् । साथै तिनीहरूले रगत र पसिना बगाएर आफ्नो व्यक्तिगत लगानीसहित वस्तु तथा सेवाको उत्पादन गर्ने गर्छन् ।
उत्पादनशील तथा अनौपचारिक श्रमिकको योगदानलाई अवमूल्यन हुने गरी औपचारिक श्रमिकलाई तलबसहित ग्रेड रकम, महँगी र पोशाक भत्ता, चाडपर्व खर्च तथा आजीवन पेन्सन जस्ता सामाजिक सुरक्षाकोषको व्यवस्था गर्नु उत्तम होइन ।औपचारिक क्षेत्रका कर्मचारीको ग्रेड वृद्धि र बढुवा औपचारिक तथा सरकारी क्षेत्रमा भनसुन, शक्तिको आडमा नियुक्ति भएका हरेक कर्मचारी तथा मजदुरको अस्थायी सेवा गणना गरेर ग्रेड वृद्धि तथा बढुवाका लागि दैनिक कामलाई थाती राखेर आन्दोलन तथा हडताल गर्ने परिपाटी छ ।
पञ्चायती शैलीमा विभिन्न सरकारी संघसंस्थानमा काम गर्ने कर्मचारीको पेशागत सुरक्षालाई केन्द्रीकृत गरी कानुन तथा नीति बनाउँदा विश्व परिवेशमा नेपाललाई असफल बनाउन सक्छ । यसको लागि एकपटक नियुक्ति हुँदैमा आजीवन सफल र योग्य हुन्छ भनी निरन्तरता दिँदा समयानुकूल सहजता सामान्य नागरिक वा जनताले पाउँदैन र सेवा गुणस्तरीय पनि हुँदैन ।पञ्चायती व्यवस्था अनुरुप औपचारिक क्षेत्रमा कर्मचारी नियुक्ति गर्नु राष्ट्रको लागि घातक हुनसक्छ । कर्मचारीले पनि पञ्चायती सरह बढुवा र ग्रेडको अपेक्षा गर्नुहुन्न ।

अबको संघीय सरकारको जिम्मेवारी : कार्यघण्टाका आधारमा तलब र अन्य सुविधा
राजतन्त्र फालेको २ दशक पुग्नै लाग्दा समेत नेपालमा विविध प्रशासनमा काम गर्ने विभिन्न तह तप्कामा काम गर्ने आैपचारिक क्षेत्रका कर्मचारीहरु राणाहरुले सेनाहरुको अंगभंगलाई व्यवस्था गरेको पेन्सन अहिलेको बदलिँदो अवस्थामा उपयोग गर्न सरकारलाई वैदेशिक ऋण लिन बाध्य पार्नु कतिको जायज छ ? साथै पेन्सनसँगै महङ्गी भत्ता, पोशाक भत्ता, चाडपर्व खर्च स्वरुपको बोनस लिनु, दिन गन्तीको आधारमा विदा लिनु देश र जनताको भविष्यमाथि कुठाराघाट तथा भ्रष्टाचार गरेकै हो । बदलिँदो व्यवस्थामा समस्त जनताको आर्थिक तथा सामाजिक अवस्था परिवर्तनको लागि अन्य सम्पूर्ण प्रशासनिक क्षेत्रलाई व्यवस्था सुहाउँदो र प्रतिस्पर्धी बनाउन स्थायी, पेन्सन, महङ्गी भत्ता, पोशाक भत्ता तथा चाडपर्व खर्च स्वरुपको बोनस, दिनगन्तीको विदा जस्ता राष्ट्रिय भ्रष्टाचारजन्य व्यवस्थालाई खारेज गर्नुपर्दछ ।
सरकारी निकायका औपचारिक तथा अन्य प्रशासनमा आवद्ध सम्पूर्ण तहतप्काका कर्मचारीहरुलाई कार्यघण्टाका आधारमा तलब र अन्य सुविधा दिएमा देशमा बहुसंख्यकले रोजगारी पाउन सम्भव हुन्छ । यसले सामाजिक न्याय दिलाउन सहयोग पुर्‍याउँछ । साथै झण्डै दैनिक २ हजारभन्दा बढी नयाँ पुस्ता विदेशिन बाध्य पनि हुँदैनन् पनि ।

नयाँ कर्मचारी नीति
अहिले संचालनमा रहेको आर्थिक गणनाको आधार लिएर झण्डै एकल दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले जनताको सेवामा सहजताको लागि सरकारी निकायमा उमेर हदबन्दी कायम नगरी हरेक ३ वर्षमा परीक्षा दिनुपर्ने र अनुत्तीर्ण भए बिदा बस्नुपर्ने, लगातार ३ पटकको परीक्षा उत्तीर्ण भए ३ ग्रेड वृद्धि सहित बढुवा हुने, बदुवा भए तापनि जनताको सेवालाई गुणस्तरीय बनाउन ३ वर्षे परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने र नभए बिदा हुनुपर्ने श्रमिक(कर्मचारी) नीति ल्याउनु आजको आवश्यकता हो ।
<span;>अनौपचारिक क्षेत्रमा आफ्नो श्रम र पैसा लगानी गरेर शारीरिक तथा मानसिक जोखिम मोल्ने मजदुरप्रति कुनै पनि सरकारी वा गैरसरकारी निकाय वा सङ्घ संस्थाले आशाको किरण छर्ने प्रयास गरेको समेत छैन । तैपनि तिनीहरू आफ्नो पारिवारिक जीवन सहजताका लागि दैनिक काममा नै खट्ने र व्यस्त रहने गर्छ । संविधान र सङ्घीयताको मर्म अनुकूल जोखिम मोल्ने हरेक प्रकारका श्रमिक तथा मजदुरको पारिवारिक तथा सामाजिक सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउनु राज्यको कर्तव्य हो ।
सूर्यमढी -९, भक्तपुर
९८४११३२६४३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौं, १७ जेठ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट...

सुनको भाउ २० हजार ५ सय बढ्यो

काठमाडौं, १७ जेठ । केही दिनयता ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी...

हेटौंडा-काठमाडौं जोड्ने चित्लाङ-थानकोट सडक दुईसाता बन्द

काठमाडौं, १७ जेठ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ...

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं, १६ जेठ । स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय संकट गहिरिँदै जाँदा आज (शनिबार) देखि निजी अस्पतालमा आकस्मिक सेवाबाहेक...