काठमाडौं, २४ साउन । थालीमा लप्टे अर्थात् पात । लप्टेमा क्वाँटी, रोटी, भात, चिउरालगायतका परिकार । गोलाकार पारेर काटिएका मूलाको चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । टीका, रक्षाबन्धनको धागो र सिन्दूर पनि पातको छेउमा सजाइएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा/रक्षाबन्धनको दिन बिहीबार बिहानै सूर्यविनायक ६ नयाँबस्तीकी गंगा दुवाल क्वाँटी बोकेर खेत पुगिन् ।
यी परिकारहरू मानिसका लागि नभई व्यांचा अर्थात् भ्यागुतोको छुट्ट्याइएको गंगाले बताइन् । ‘नेवार समुदायले जनैपूर्णिमाको दिन क्वाँटी पकाएर खेतमा भ्यागुतोलाई खुवाउने चलन छ । भ्यागुताले खान्छ नै भन्ने छैन, तैपनि एक भाग छाडिदिनु परम्परा हो,’ उनले भनिन्, ‘भ्यागुतालाई नखुवाई घरका कसैले पनि क्वाँटी खाँदैनन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताको प्रतीकका रूपमा भ्यागुतोलाई लिने गरिन्छ । त्यसैले यो दिन भ्यागुतोलाई सबैभन्दा पहिले खुवाउने चलन छ ।’
जनैपूर्णिमामा अवसरमा मठमन्दिरमा जनै फेर्ने र रक्षाबन्धन बाँध्नेहरूको भीड भए पनि भक्तपुरका किसान खेतको आलीमा बसेर भ्यागुतालाई क्वाँटी खुवाउनमा व्यस्त देखिन्थे । भक्तपुरमा जनैपूर्णिमाका दिन किसानले लप्टेमा खानेकुराको साथै रक्षाबन्धनको धागो, सिन्दूर र ऐना (भातमा गाडिएका मुलाका चाना) राखेर पनि लाने चलन छ ।
आफू हिँडेपछि भ्यागुताले खान्छन् भन्ने विश्वासमा दुवालले क्वाँटीसहितको परिकार धानको बोटमै राखिदिइन् । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीका विकास सुवालका अनुसार भ्यागुतालाई क्वाँटी खुवाउने चलनलाई नेपाल भाषामा ‘ब्यां चा जा नका वानेगू’ भन्छन् । यसको अर्थ ‘भ्यागुतालाई भात अथवा भोज खुवाउन जाने’ भन्ने हुन्छ ।