भक्तपुर, २४ असोज । सूर्यविनायक नगरपालिकाद्वारा आयोजित नगरस्तरीय धिमे बाजा प्रतियोगिता-२०८३ मा वडा नं. १ स्थित नासः धिमे खलः प्रथम भएको छ। कूल १३ टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नासः धिमे खलःले नगद ७५ हजार रूपैयाँ सहित प्रथम स्थान हासिल गरेको हो।
प्रतियोगितामा लुनिभा धिमे बाजा खलः द्वितीय हुँदै नगद ५० हजार रूपैयाँ र वडा नं. १० को सिमलटार बाजा खलः तृतीय हुँदै नगद २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको छन्। विजयी टोलीहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा सम्मानित गरिएको छ।
स्थानीय मौलिक संस्कृति, परम्परा र परम्परागत बाजागाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले सो प्रतियोगिता आयोजना गरेको नगरप्रमुख बासुदेव थापाले जनाएको छ।







