काठमाडौं, १० भदौ । बागमती प्रदेश सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट चिकित्सक सहितका स्वास्थ्यकर्मी परिचालन गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरका अनुसार प्रदेशकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको छ ।विपद् क्षेत्रमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट डा. दिवाकर सुवेदी (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा. विजय भट्ट (जनरल सर्जन), डा. कविकान्त चौधरी (मेडिकल अधिकृत), दिपेश खड्का (आइटी इन्जिनियर), सङ्गिता प्याकुरेल (स्टाफ नर्स) र अलिसा पोट्रेल (हेल्थ असिस्टेन्ट) सम्मिलित टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
त्यसैगरी काठमाडाैंको टोखा चण्डेश्वरी अस्पतालबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक सङ्गिता छत्कुली, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि स्टोरकिपर लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धोकुमारी राना र सवारी चालक उत्तरकुमार गुरुङ प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । त्यस्तै, बज्रबाराही अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कासिन नेपाली, मेडिकल अधिकृत डा. आयुषजङ्ग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महतको टोली परिचालन भएका छन् । प्रदेश सरकारले अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी परिचालनको तयारी गरिरहेको जानकारी दिदै मुख्यमन्त्री थापामगरले विपद्को अवस्था थप जटिल हुन सक्ने भन्दै प्रदेशअन्तर्गतका सम्पूर्ण अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा जनशक्तिसहित तयारी अवस्थामा रहन निर्देशन गरिसकेको जानकारी दिए ।






