मकवानपुर, ०९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज (मंगलबार) अपरान्ह ४ बजे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । त्यसपछि बैठकको समय पटक/पटक परिवर्तन गरी साँझ ५ बजे र अन्तिममा ८ बजेका लागि तोकिए पनि बैठक बस्न सकेन ।
सोमबार बैठक बस्न नसकेपछि आज भदौ ९ गते अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको हो । मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मतसम्बन्धी छलफलका लागि सोमबार दिउँसो १ बजेका लागि आव्हान गरिएको बैठक सूचना टाँस गरेर मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगन गरिएको हो ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलले सोमबार सूचना जारी गर्दै विशेष कारण सोमबार राति ८ बजेका लागि निर्धारित बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएका छन् । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने गरी पुनः निर्धारण गरिएको उनको भनाइ छ ।






