ग्वलः दे मा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०७ भदौ । काठमाडौँको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ (नित्यनाथ मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ । आज (आइतबार) एक समारोह बिच काठमाडौँ महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले मन्दिरको समुदघाटन गरिन् ।  त्यस अवसरमा वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयबासीको बाक्लो उपस्थिति थियो ।
मन्दिरको पुनःनिर्माण लागत करबाहेक करिब २ करोड २७ लाख रुपैयाँ छ । तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय, दोस्रो तलालाई सामाजिक कार्य, बाजागाजा प्रशिक्षण तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ । मन्दिरका हरेक तला ८१३.०६ वर्गफिट क्षेत्रफलका छन् । मन्दिरको समुद्घाटनपछि आयोजित औपचारिक समारोहमा कार्यबाहक प्रमुख डंगोलले, काठमाडौँ महानगरपालिकाले पहिचान, मौलिकता, मूर्त, अमूर्त, अभिलेख तथा प्राकृतिक सम्पदा बचाउने योजनालाई उच्च प्राथमिकता दिएको बताइन् । ‘नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा छौँ । गएको वर्षभन्दा यो वर्ष कार्यक्रम संख्या र बजेट नै बढाएका छौँ ।’  त्यस क्रममा समितिका संयोजक एवं वडाध्यक्ष संगतले संस्कारमा बाँधेर राख्ने संरचनालाई पुनर्जीवन दिन पाएको बताएका छन् । मन्दिर, सत्तल, पोखरी, धारा लगायतका संरचना सामुदायिक सम्पत्ति भएको उल्लेख गर्दै संगतले मन्दिर पुनःनिर्माणका लागि स्थानीयबाट ठुलो सहयोग प्राप्त भएको बताएका छन् ।  कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले काठमाडौँभित्र रहेका ठाउँठाउँसँग सम्बन्धित मौलिकता कसरी उपयोग भइरहेका छन्? भन्नेमा ध्यान दिन सकिएन भने परम्परा गलत ठाउँमा पुग्न सक्ने जोखिम देखाउँदै समय रहँदै सच्याउने ठाउँमा पनि काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गरे ।

कार्यक्रममा ज्यापू सांस्कृतिक विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन, सन्ध्या पुस्तकालयका अध्यक्ष शिवकुमार संगत लगायत वक्ताले, ग्वलः क्षेत्रको प्राचीन संरचना, मौलिक जीवनशैली पुनःस्थापनाका लागि महानगरपालिकाले गरेको काम महसुस गर्न सकिने स्तरमा उच्च रहेको उल्लेख गरे ।
त्यस अवसरमा नित्यनाथ सत्तलमा सञ्चालन गरिएको ३ महिने परम्परागत बाँसुरी, पछिमा, धिमय् र धिमय् नृत्य प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । त्यस्तै, सन्ध्या पुस्तकालयले, सत्तल पुनःनिर्माणमा नेतृत्व लिने वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, नित्यनाथ सत्तलका डिजाइनर इञ्जिनियर सुशन वैद्यलाई सम्मान प्रदान गरिएको छ ।
२०८१ माघ ८ गते विहीबार मन्दिर पुनःनिर्माणको जग पूजा गरिएको थियो । ०८२ माघ १ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । यसै बिच २०८२ मंसिर ५ गते नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरियो । यसअघि मूर्तिको सट्टा प्रति आकृति मात्र पूजा गर्ने गरिएको थियो । त्यस प्रतिआकृति भित्र पारेर अहिले आसनमाथि करिब ३ फिट अग्लो निराकार प्रस्तर मूर्तिलाई पूजाआजा गरी आसनमा पुनःस्थापना गरिएको छ । नित्यनाथको पूजाआजा र आराधनाका लागि बिहीबार विशेष दिन मानिन्छ ।
१९९० सालको भूकम्प अघि नै जीर्ण अवस्थामा रहेको मन्दिर २०३९ सालमा तत्कालीन वडाध्यक्ष स्व. सुवर्ण वैद्यका पालामा ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर तल्लो तलामा सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । माथिल्लो तलामा पूजाआजा र परम्परागत बाजागाजा सिकाउने गरिन्थ्यो । स्थानीय संस्कृतिका जानकार राजेश संगतका अनुसार नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य विधाको शिक्षा आरम्भ गर्नुअघि नित्यनाथ (नासः द्यः) को पूजा गर्ने प्रचलन रहिआएको छ । ‘नित्यनाथको पूजाका लागि बिहीबारलाई विशेष र शुभ दिन मानिन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...