इन्द्रायणी द्योछेँ (इल्मा अजिमा) को पुनर्निर्माण सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०७ भदौ । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको भक्तपुर नपा वडा नं. २ खौमास्थित इन्द्रायणी द्योछेँ (इल्मा अजिमा) को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गरेका छन्। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले जनताको व्यापक सहभागिता र सहयोगमा सम्पदा पुनर्निर्माण सम्पन्न हुनु सबैका लागि उत्साहजनक भएको बताउँदै सम्पदा संरक्षणमा योगदान पुर्याउने जनता धन्यवादका पात्र रहेको बताएका छन्। पुरानो सम्पदा आफैंले संरक्षण र पुनःनिर्माण गर्न सक्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको उल्लेख गर्दै विदेशी सहयोगबिना पनि जनताको सहभागितामा सम्पदा संरक्षण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको उनले बताए । उनले यस प्रकारका कार्यको प्रचारप्रसारसँगै दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधि र जनता दुवै सम्पदा संरक्षणमा सचेत हुनुपर्ने र सम्पदा पुनर्निर्माणमा हेलचेक्र्याइँ गर्न नहुने धारणा राखेका छन् ।

अध्यक्ष बिजुक्छेँले युनेस्कोका नियमहरू पनि विभिन्न देशका अनुभव र जानकारीका आधारमा बनिने उल्लेख गर्दै पुनर्निर्माण कार्यमा स्थानीय मौलिकता र प्राचीन प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदाको सहर तथा विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरमा रहेको इन्द्रायणी द्योछेँको पुनर्निर्माणमा धेरै व्यक्ति तथा संघ संस्थाको सहयोग रहेको बताउँदै उपभोक्ता समिति, अनुगमन समिति, द्योछेँ पुनःमा आर्थिक सहयोग, स्वर्णलगायतका सामग्री सहयोग र श्रमदानमा सहभागी सबै सहयोगीप्रति धन्यवादज्ञापन गरेका छन् । भक्तपुर नगरपालिकाले हालसम्म करिब १८५ वटा सम्पदा पुनर्निर्माण तथा संरक्षणका कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै उनले मूर्त र अमूर्त दुवै सम्पदालाई प्राथमिकताका साथ संरक्षण गर्दै आएको बताएका छन् । भक्तपुर जीवित सांस्कृतिक संग्रहालय तथा नाचगानको राजधानीका रूपमा चिनिँदै आएको बताउँदै उनले संस्कृति र सम्पदालाई नयाँ पुस्तामा पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सम्पदा पुनःनिर्माण सम्पन्न कार्यको समीक्षा र सिंहावलोकन पनि महत्वपूर्ण पाटो भएको बताउँदै भक्तपुर नगरपालिकाले विश्वले हेर्नलायक काम गरिरहेको बताएका छन् । संसारका विभिन्न स्थानमा पुराना सम्पदा हटाउने र नष्ट गर्ने कार्य भइरहेको उल्लेख गर्दै उनले त्यसविरुद्ध त्यहाँका जनता नै प्रतिकारमा उत्रिरहेको उदाहरणहरू प्रस्तुत गरेका छन् । सभ्यता बचाउने र नष्ट गर्नेबीच संघर्ष भइरहेको अवस्थामा भक्तपुरले आफ्नो इतिहास, संस्कृति र सभ्यतालाई सम्पत्तिका रूपमा ग्रहण गरी संरक्षण गर्दै आएको उनले स्पष्ट पारे । सांसद गोसाईले विदेशी सहयोगबिना पनि सम्पदा पुनर्निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको बताउँदै आफ्नै खुट्टामा उभिएर गरिएको विकास दिगो र स्वाभिमानी हुने धारणा गरेका छन् । भक्तपुरको विकास मोडलबारे एक दिन इतिहास लेखिने र यसले नेपाली सभ्यता र पहिचानलाई अझ उँचो बनाउने बताउँदै उनले जनताको सहभागितामा सार्वजनिक सम्पत्तिको संरक्षण भइरहेको उल्लेख गर्दै सम्पदा, संस्कृति र इतिहास जोगाउने अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा संस्कृति र संस्कार जीवित रहेको बताउँदै योजनाबद्ध सहरका रूपमा रहेको भक्तपुरका चाडपर्व कृषि प्रणालीसँग समेत सम्बन्धित रहेको उल्लेख गरिन् । उनले भक्तपुर नगरको स्वरूप नै यसको पहिचान र विशेषता भएको बताइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुख सौभाग्य प्रधानांगले भक्तपुरको उत्कृष्ट गहनाका रूपमा रहेको इन्द्रायणी द्योछेँको पुनर्निर्माण सम्पन्न हुनु सुखद् कार्य भएको बताउँदै सम्पदा पुनर्निर्माणले भौतिक सम्पदा पुनर्जीवित हुनुका साथै मौलिकता र प्रामाणिकता जोगिएको तथा शिल्पकला पनि पुनर्जीवित भएको बताइन् । भक्तपुरमा उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण गर्ने मोडल प्रभावकारी रहेको उल्लेख गर्दै उनले पुरानो प्रविधि र परम्परागत प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उपभोक्ता समितिमार्फत गरिएका काम उदाहरणीय रहेको उल्लेख गर्दैै स्थानीय सरकारसँग सहकार्य गर्दै नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न प्रशासन प्रतिबद्ध रहेको बताइन् । इन्द्रायणी द्योछेँ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले द्योछेँ पुनर्निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक सहयोग तथा विभिन्न व्यक्तिबाट प्राप्त स्वर्णलगायत सहयोगबारे जानकारी गराएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बसुकलाले उपभोक्ता समितिमार्फत स्थानीय जनताको सक्रिय सहभागितामा गुणस्तरीय सामग्री प्रयोग गरी द्योछेँको पुनर्निर्माण सम्पन्न भएको बताएका छन् । स्थानीयबासीले निःस्वार्थ रूपमा मन्दिर तथा सम्पदा संरक्षणमा सहयोग पुर्याएको उनले उल्लेख गरे ।

इन्द्रायणी द्योछेँ पुनर्निर्माणका लागि ३ करोड ७२ लाख २५ हजार ५८२ रुपैयाँ लागत इस्टिमेट गरिएकोमा हालसम्म ३ करोड २१ लाख ९७ हजार ५३९ रुपैयाँ खर्च भएको छ । पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट ४५ लाख ९४ हजार १३३ रुपैयाँ चन्दा प्राप्त भएको उपभोक्ता समितिले जनाएको छ । हालसम्म पनि विभिन्न व्यक्तित्व तथा सहयोगदाताबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको बताइएको छ । इन्द्रायणी द्योछेँको मर्मत–सम्भार तथा संरक्षणका लागि भविष्यमा आवश्यक खर्च व्यवस्थापन गर्न सञ्चय कोष स्थापना गर्ने तयारीसमेत भइरहेको उपभोक्ता समितिका पदाधिकारीहरूले बताएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...