काठमाडौं, १९ असोज । शान्तिनगरमा आयोजित फुटसल प्रतियोगितामा बानेश्वर फ्रेण्डसिप क्लबले विजेता हासिल गरेको छ । काठमाडौं महानगरपालिका-३१ ले स्थानीय क्लबसँगको सहकार्यमा सञ्चालन गरेको ४५ वर्ष उमेर माथिका पुरुष बिचको प्रतियोगितामा किङ् कम स्पोट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बानेश्वर क्लब विजेता बनेको हो । खेलको समापन अवसरमा वडाध्यक्ष सरोज ढकालले, विजेता टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरे । यस्तै, उपविजेता टीमलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।
खेलमा ७ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । खेलले वडाबासीका बिचमा भौतिक सम्बन्ध बढाएको छ । समापन अवसरमा वडाध्यक्ष ढकालले भने, ‘मोबाइल संसारमा रमाउँदै कोठामा थुनिएका वडाबासीलाई भौतिक रुपमा एक ठाउँमा ल्याउने प्रयास गरेका हौँ । यसबाट सामाजिक सदभावलाई भौतिक रुपमा देखिने बनाएको छ ।’
वडाले बालबालिका, युवा, प्रौढ लगायत विभिन्न समूहमा खेलका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी राजु पुलामीलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरेको छ ।







