कास्की, ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनसम्म मगर समुदायको अतुलनीय र ऐतिहासिक योगदान रहेको बताएका छन् । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२ औँ स्मृति दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहसँगै गोर्खा र लमजुङबाट सिपाही बनेर आएका मगरहरू काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गरेको ऐतिहासिक प्रसङ्ग उल्लेख गरे । उपत्यकाका विभिन्न पालिकाहरूमा बसोबास गर्ने क्रममा मगर समुदायले आफ्नो भाषा, संस्कृति र संस्कार हराउँदै गएकाले यसको संरक्षण, प्रवर्धन र पुनः उत्थानमा लाग्न उनको जोड छ।
नेपालका प्रथम सहिद क्याप्टेन सहिद लखन थापाको योगदानको स्मरण गर्दै मुख्यमन्त्री थापा मगरले राणा शासनविरुद्ध लड्ने वा अरु कुनै आन्दोलन होस सबैमा मगर समुदायको विशेष भुमिका रहेको प्रष्ट पारे । देश-विदेशका सेना, प्रहरी लगायतका सुरक्षा निकायमा मगर समुदायको ठूलो उपस्थिति र इमानदारिताको उच्च कदर भएको भन्दै नीति निर्माण, राजनीति र उच्च निजामती सेवामा अझ उपस्थिति बढाउनुपर्ने उनी बताउँछन् । थरका आधारमा विभाजित हुनुको सट्टा मगर समुदायले एकीकृत भई आफ्नो भाषा, संस्कृति, कला र पहिचान जोगाउन लाग्नुपर्ने उनको भनाइ छ । संस्थागत वा व्यक्तिगत रूपमा मगर समुदायको सशक्तीकरण, भाषा–संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सदैव पूर्ण सहयोग रहनेमा आफू प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारे ।
प्रतिष्ठानका अध्यक्ष सञ्जिता पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक उत्तम पुन, गण्डकी प्रदेश सभाका पूर्वप्रदेश सभा सदस्य राजिब पहारी लगायत नेपाल मगर संघका केन्द्रीय पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो।
तस्बिर : प्रकाश दाहाल ।







