काठमाडौं, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने धादिङका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका-१६ सतुङगल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका-३ बस्ने रामेछापका १९ वर्षीय राजन मोक्तान र ललितपुर च्यासल बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-९ का १९ वर्षीय सक्षम श्रेष्ठ छन् ।
काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा अवैध रूपमा विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र सोही महानगरपालिका-६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदामबाट २ हजार ७ सय ७० थान विद्युतिय चुरोट (भेप) फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।







