छो-रोल्पा हिमतालको जोखिम न्यूनीकरणका लागि तामाकोसी किनारका बस्तीमा पूर्वसूचना प्रणाली बलियो बनाउन स्थानीयको माग

Date:

Share post:

Suryabinayak Nagarpalika

दोलखा, ३० भदौ । छो-रोल्पा हिमतालको जोखिम न्यूनीकरणका लागि तामाकोसी किनारका बस्तीमा पूर्वसूचना प्रणाली बलियो बनाउन स्थानीयले माग गरेका छन् । दोलखाको रोल्वालिङ उपत्यकामा रहेको छो-रोल्पा हिमतालको जोखिमलाई लिएर अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र–इसिमोडले यसअघि पटक-पटक अध्ययन गर्‍यो । अध्ययनले हिमताल फुटेमा तामाकोशी नदी हुँदै रामेछापको मन्थली क्षेत्रमा पनि असर पर्न सक्ने देखाएको थियो । जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने भएपछि तत्कालीन समयमा मन्थलीका आकाशे, बसपार्क र हाटेचौर लगायतका क्षेत्रमा रहेका सरकारी कार्यालयलाई अहिलेको मुख्य बजार भन्ज्याङ क्षेत्रमा सारियो ।

सम्भावित बाढीको पूर्वसूचना दिन रामेछापका विभिन्न स्थानमा साइरन जडान गरिए । ती साइरनका अवशेषहरू विभिन्न ठाउँमा अहिले पनि भेटिन्छन् । तर, देश १० वर्षे माओवादी जनयुद्ध र त्यसपछिका राजनीतिक तथा सामाजिक परिवर्तनबाट गुज्रिँदै गर्दा छो रोल्पाबाट हुन सक्ने जोखिमको विषय भने क्रमशः ओझेलमा पर्दै गयो । जोखिम पहिचान गरिएका कतिपय क्षेत्रमा बस्ती विस्तार हुँदै गयो । जोखिम भनिएका ठाउँहरूमा पनि घरहरू थपिँदै गए । तर, यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि भने पुरानो जोखिमको विषय फेरि चर्चामा आएको छ ।
मन्थली नगरपालिकाको हाटेचौरका रामप्रसाद देवकोटाका अनुसार तामाकोशी र सुनकोशी किनारका बस्तीमा भोटेकोशीमा आएको बाढीपछि फेरि त्रास बढेको छ । ‘तामाकोशी र सुनकोशी किनारका बस्तीमा अहिले त्रास फैलिएको छ,’ उनले भने, ‘छो रोल्पा हिमतालका कारण विगतमा पटक–पटक मन्थलीमा भागदौड मच्चिएको थियो । तामाकोशी आसपासका बस्तीका मानिसहरू घर छाडेर डाँडातिर जाने अवस्था पनि पटक–पटक आएको छ ।’ उनका अनुसार जोखिमका कारण नदी किनारमा बसोबास गर्ने नागरिकले सधैँ त्रासमा जीवन बिताउनुपर्ने अवस्था छ । ‘अब नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प छैन,’ देवकोटाले भने ।

आफूले थाहा पाएसम्म विभिन्न समयमा तीन पटकभन्दा बढी तामाकोशीमा बाढी आएको हल्लाले स्थानीयमा आतङ्क मच्चिएको देवकोटाले बताए । उनका अनुसार त्यस्ता हल्ला फैलिएका बेला तामाकोशी किनारका बस्तीमा बस्ने मानिसहरू पकाउँदै गरेको खाना समेत छाडेर ज्यान जोगाउन दाहाल गाउँलगायत आसपासका डाँडातिर पुग्ने गरेका छन् । ‘बाढी आएको हल्ला चलेपछि मानिसहरू घरमा बस्नै नसक्ने अवस्था हुन्थ्यो,’ उनले भने, ‘पाक्दै गरेको खाना छाडेर डाँडातिर पुगेका र केही समयपछि मात्रै फर्किएका घटना अहिले पनि सम्झनामा छन् ।’

मन्थलीका सागरहरि अधिकारी भने छो रोल्पा हिमताल फुट्ने जोखिमका कारण विगतमा मन्थलीमा त्यस्तो ठूलो घटना आफूले प्रत्यक्ष देख्न नपरेको बताउँछन् । उनका अनुसार २०८१ असोज १२ र १३ गते तामाकोशीमा आएको बाढी भने आफूले देखेको पछिल्लो समयकै ठूलो बाढी थियो । ‘त्यतिबेला मन्थली विमानस्थलसमेत पानीले भरिएको थियो,’ उनले भने, ‘तर बाढीले मन्थली क्षेत्रमा ठूलो क्षति भने गरेन । तामाकोशी र सुनकोशीको संगम हुँदै तलतिर पुगेपछि बाढीले धेरै पूर्वाधारमा क्षति पुर्‍याएको थियो ।’

पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको बाढीपछि भने रामेछापका तामाकोशी र सुनकोशी किनारका बस्तीमा छो रोल्पा हिमतालको जोखिमबारे फेरि चासो र त्रास बढेको छ । यस्तो अवस्थामा सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने उनको भनाइ छ । ‘बाढी आउनुअघि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराउन सकिने गरी पूर्वसूचना प्रणाली बलियो बनाउन आवश्यक छ,’ अधिकारीले भने, ‘सम्भावित जोखिमलाई बेवास्ता गरेर बस्नुभन्दा समयमै तयारी गर्नु नै सुरक्षित उपाय हो ।’
मन्थली नगरपालिकाको प्रारम्भिक तथ्यांक अनुसार नगर क्षेत्रभित्र तामाकोशी नदीको सतहबाट १५ देखि ३० मिटरको उचाइसम्म करिब ४ सय घरपरिवार बसोबास गर्छन् । नगरपालिकाका अनुसार ती बस्तीमा रहेका ८ देखि ९ सय नागरिक छो रोल्पा हिमताल फुटेमा सम्भावित बाढीको प्रत्यक्ष जोखिममा छन् ।
नगर प्रमुख लव श्रेष्ठका अनुसार तामाकोशी किनारमा रहेका केही बस्ती नदीको सतहबाट निकै कम उचाइमा छन् । मन्थली–१३ र १४ अन्तर्गतको देविटारमा नदीको सतहबाट १८ देखि २० मिटरको उचाइमा करिब २० घरपरिवार बसोबास गर्छन् । त्यस्तै वडा नं. ११ र १२ अन्तर्गतको खिम्ती बजारमा १८ देखि २५ मिटरको उचाइमा ३५ देखि ४० घरपरिवार छन् ।

वडा नं. २ को कठजोर खोला क्षेत्रमा नदीको सतहबाट करिब ३१ मिटरको उचाइमा १५ देखि २० घरपरिवार बस्दै आएका छन् । सोही वडाको करम्बोटमा २८ देखि ३० मिटरको उचाइमा एक दर्जनभन्दा बढी घरपरिवारको बसोबास छ । वडा नं. ८ को गाइखुरामा ४२ भन्दा बढी तथा जखनीटारमा आधा दर्जनभन्दा बढी घरपरिवार २८ देखि ३० मिटरको उचाइमा छन् ।
वडा नं. १ को हाटेचौर तथा मन्थली विमानस्थल क्षेत्र, वडा नं. ६ को कुनौरी र सेलेघाटमा पनि तामाकोशी नदीबाट २५ देखि ३० मिटरको उचाइमा बस्ती रहेको नगरपालिकाले जनाएको छ । वडा नं. ६ कै नबुघाटमा भने नदीको सतहबाट १५ देखि २० मिटरको उचाइमा घरपरिवार बसोबास गरिरहेका छन् । नगर प्रमुख श्रेष्ठका अनुसार तामाकोशी किनारका बस्ती सम्भावित जोखिमको दायरामा रहेकाले नगरपालिकाले स्थानीयलाई विभिन्न माध्यमबाट सचेत गराउँदै आएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...