भक्तपुर, २५ भदौ । भक्तपुर नगरपालिका-२ इटाछे र सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । प्रहरीका अनुसार बिहिबार सूर्यविनायक नगरपालिका-३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक सर्लाही बरहथवा नगरपालिका-७ घरभई हाल सोही स्थानमा बस्दै आएका २५ वर्षीय उमेश शाहलाई पक्राउ गरिएको हो ।
शाहले सञ्चालन गरेको किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँका दरले बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेम बहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा उक्त पसलबाट ७५ थान भरिएका हिमाल ग्याँस सिलिण्डर बरामद गरी पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, बिहिबार नै भक्तपुर नगरपालिका-२ इटाछेस्थितबाट १४ वटा सगर ग्यास सिलिण्डरसहित सञ्चालक ४१ वर्षीय राजेश कर्मचार्यलाई पनि पक्राउ गरिएको छ । पक्राउ गरिएको दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको छ ।







