हेटौँडा, १० भदौ । रसुवा जिल्लास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवासहित छिमेकी जिल्लाहरू नुवाकोट, धादिङ र चितवनमा ठूलो प्रभाव परेको छ। बाढीबाट भएको जन-धनको क्षतिप्रति बागमती प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ।
मुख्यमन्त्री किरण थापा मगरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबिच प्रभावकारी समन्वय गरी स्रोत-साधन परिचालन गरिएको छ। बागमती प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू तथा कर्मचारीहरूको आकस्मिक बैठकले विपद् क्षेत्रमा सबै तह र निकायलाई सक्रिय रूपमा खटाउने निर्णय गरेको छ।
बाढीबाट अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा सुचारु गर्ने काम द्रुत गतिमा भइरहेको छ भने दुर्गम तथा जोखिमयुक्त स्थानमा उद्धारका लागि हेलिकप्टरमार्फत हवाई उद्धारको समन्वय भइरहेको छ। यस्तै, स्वास्थ्य तथा सामाजिक मन्त्रालयको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यक औषधि र उपकरणसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।
प्रदेश सरकारले बाढीको पूर्व सूचना प्रणाली, निरन्तर एसएमएस तथा मिडियामार्फत सतर्कता सन्देश प्रवाह गरिरहेको जनाएको छ। साथै, विषम परिस्थितिमा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी राहत वितरण र पुनर्लाभका कार्यमा जुट्न सामाजिक तथा मानवीय सङ्घसंस्थाहरूलाई आह्वान गर्दै सम्पूर्णमा सहयोग र सहजीकरणका लागि बागमती प्रदेश सरकारले अपिल गरेको छ।






