मकवानपुर, ३१ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले सोमबार विश्वासको मत लिँदै छन् । प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकसम्बन्धी सूचनासमेत आह्वान गरिसकेको छ । बागमती प्रदेश सभाको जारी दोस्रो कार्यकालको साढे तीनवर्षे अवधिमा छैटौंपटक मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । यसअघि विभिन्न समयमा विभिन्न मुख्यमन्त्रीले ५ पटक विश्वासको मत लिइसकेका छन् ।
२०८२ साउन २० गते सत्ता सम्हालेका मुख्यमन्त्री बानियाँले सोही वर्ष साउन २७ मा संसद्बाट विश्वासको मत लिएका थिए । एमाले–कांग्रेस गठबन्धनबाट सरकार बनाएका उनी हाल सत्ता साझेदार दल एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।
एमालेको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । कांग्रेस संसदीय दलको बैठकले भदौ ३ गतेअगावै विश्वासको मत लिने निर्णय गरेको थियो । १ सय १० सदस्यीय बागमती प्रदेश सभामा हाल १ सय ४ सदस्य कायम छन् । सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ । हालसम्म उनको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको समर्थन छ । हाम्रो नेपाली पार्टी सरकारमा एक मन्त्रीसहित सहभागी छ । सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँले अझै १५ सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ ।
प्रदेश सभामा नेकपाका २६ र एमालेका २५ सभासद रहेका छन् । दुवै दल मिलेर पनि आवश्यक बहुमत जुटाउन सकेका छैनन् । प्रदेश सभाको तेस्रो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ सभासद् रहेका छन् । उसले सरकार गठनको प्रक्रियामा सामेल नहुने निर्णय गरिसकेको छ । तीन सभासद् नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का रहेका छन् । ऊ पनि विगतदेखि नै प्रतिपक्षमै रहँदै आएको छ ।
२०७९ मंसिरको आमनिर्वाचनपछि गठित प्रदेश सभामा यसअघि तीन मुख्यमन्त्रीले ५ पटक विश्वासको मत लिएका छन् । यस अवधिमा प्रदेश सभाबाट माओवादी केन्द्र (हाल नेकपा)का एक र कांग्रेसका दुई मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् ।
२०८२ साउन २७ मा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले संसद्बाट विश्वासको मत पाएका थिए । त्यसअघि २०८१ साउन १५ मा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्बाट विश्वासको मत लिएका थिए । तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले फरक/फरक गठबन्धनबाट विश्वासको मत लिएका थिए ।






