भक्तपुर, २५ साउन । मध्यपुर थिमि नगरपालिकाले विगतदेखि प्राथमिकतामा राखेर अगाडी बढाएको स्वबासी जग्गाको भूमी सम्बन्धि समस्या समाधानका साथै मध्यपुर थिमी नगरपालिकाले नगरभित्र लामो समयदेखि रहँदै आएका जग्गा प्रशासनसम्बन्धी जटिल समस्याहरू समाधान गर्न र जनतालाई घरदैलोमै सहज सेवा पुर्याउन सक्रियता बढाएको छ। यसै क्रममा सोमबार नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ र नापी कार्यालय भक्तपुरका प्रमुख पूर्णप्रसाद पाण्डेसँग भूमि प्रशासन तथा स्वबासी जग्गाको लालपुर्जा वितरण तथा वितरण भएका पुर्जाहरु कानुनी रुपमा लागु गर्ने सम्बन्धी विषयमा भएका प्रगति, विद्यमान समस्या र तिनको द्रुत समाधानका विषयमा विस्तृत छलफल गरेका छन् । नगरपालिकाका उपप्रमुख श्रेष्ठले आफू निर्वाचित हुनुभन्दा अगाडि अर्थात् २०७८ सालमा वडा नं. ५ र ६ को २० वर्षदेखि रोकिएको पुर्जा वितरण आफू सहित सक्रिय भएर गरिएको पुर्जावितरण कार्यको स्मरण गराउँदै हालसम्मको वास्तविक अवस्था निर्क्यौल गर्दै जनतालाई स्थानीय सरकारबाटै सहज र सुलभ सेवा उपलब्ध गराउने लक्ष्यका साथ नेपालको संविधानमा नै एकल अधिकार क्षेत्रमा समेटिएको भूमी सम्बन्धि अधिकार पुर्ण कार्यान्वयन गर्नेगरी भूमि प्रशासन कार्यालय/केन्द्र सञ्चालनको तयारी गरिएको बताएका छन् ।
उपप्रमुख श्रेष्ठका अनुसार वडा नं. ५ र ६ को साविक वडा नं. ७, ८, ११ र १० (हालको वडा नं. ५ र ६) का स्वबासी जग्गाको नाप–नक्सा भएको करिब २० वर्षपछि २०७८ सालमा तत्कालीन भूमि सुधारमन्त्री शशी श्रेष्ठको उपस्थितिमा वडा न ६ स्थित पाटी बिहारबाट पुर्जा वितरण सुरु गरिएको थियो। पछि २०८० सालमा नगरपालिकाको पुनः पहलमा साविक वडा नं. ४, ५ र ६ (हाल वडा नं. ७ र ५) का बाँकी पुर्जा वितरण गरिएको थियो। पुर्जा वितरण सम्पन्न भएको क्षेत्र जहाँ हालसम्म पुर्जा लागुहुन सकेको छैन, बाँकी क्षेत्रको पुर्जा लागू गर्न आउँदो भदौभित्र सूचना प्रकाशन गर्ने तथा नाप–नक्सा बाँकी रहेका क्षेत्रमा नाप–नक्सा गरी बाँकी पुर्जा वितरण गरिने जानकारी नापी प्रमुख पाण्डेबाट प्राप्त भएको उपप्रमुख श्रेष्ठले बताए ।
त्यस्तै,नाप-नक्सा भइसकेको साविक वडा नं. १ र २ (हालको वडा नं. ८) का स्वबासी जग्गाको पुर्जा वितरणका लागि नापी विभागबाट सहमति प्राप्त भइसकेकाले तत्काल प्रक्रिया अगाडि बढाइने भएको उनले बताएका छन् । साथै वडा नं. ५, सिद्धिकालीको उपल्लो नासननी क्षेत्रमा नगरपालिका र नापी सहितको टोलिले पटक पटक नापजाँच सकिँदा पनि कार्यान्वयन हुन नसकेको क्षेत्रमा यो पटक नगरपालिकाको अनुरोधमा नापी कार्यालय प्रमुख पाण्डेको सक्रियतामा पुनः नाप-नक्सा नगरपालिका सहितको टोलिबाट सम्पन्न भएको जनाएको छ ।हाल भएको नाप–नक्साअनुरूप नगर कार्यपालिकाबाट निर्णय भएपछि नापी कार्यालयबाट सूचना जारी गरी आवश्यक प्रक्रिया पूरा गरेर भदौभित्रै पुर्जा वितरण गरिने नापी प्रमुखलाई उदृढ गर्दै उपप्रमुख श्रेष्ठले जानकारी दिए ।
उक्त केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि नगरपालिकाले चालुआर्थिक वर्ष २०८३/०८४ का लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको जनाएको छ। भूमि प्रशासन केन्द्र स्थापना भएसँगै मध्यपुर थिमीका बासिन्दाले जग्गा सम्बन्धी झन्झटिला प्रक्रियाबाट मुक्ति पाउने र स्थानीय सरकारबाटै छिटो-छरितो सेवा पाउनेमा उपप्रमुख श्रेष्ठ विश्वस्त छन् ।






