चितवन, ११ साउन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका-१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका-९ घरभई गैंडाकोट नगरपालिका-१२ मा बसोबास गर्दै आएकी ३८ वर्षीया कविता राई तथा भोजपुर घरभई गैंडाकोट-१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेका छन्।
आइतबार दिउँसो मन्दिर नजिक स्थानीयबासीले उनीहरूलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले दुवै महिलाको उद्धार गरेको थियो। प्रहरीले उनीहरूलाई उपचारका लागि नगर अस्पताल भेँडाबारी पुर्याए पनि अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय नवलपुरकाअनुसार दुवै महिलाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






