काठमाडौं, १२ साउन । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत मोबाइल सेवाका ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले पोस्टपेड, प्रिपेड, रिकरिङ तथा कर्पोरेट प्रयोगकर्तालाई लक्षित गरी डाटा, भ्वाइस र एसएमएस सेवामा आकर्षक अफर ल्याएको हो । कम्पनीका अनुसार पोस्टपेड ग्राहकका लागि पहिलो पटक ३७३ र ४९९ रुपैयाँका नयाँ प्याक सञ्चालनमा ल्याइएको छ । यससँगै सजिलो अनलिमिटेड प्याकलाई पनि थप परिमार्जन गरी विभिन्न मूल्यका प्याकमा बढी डाटा, अनलिमिटेड भ्वाइस र थप एसएमएस सुविधा समावेश गरिएको छ ।
प्रिपेड प्रयोगकर्ताका लागि पनि छोटो अवधिका उच्च क्षमताका डाटा प्याक थपिएका छन् । अब ९९ रुपैयाँमा एक दिनका लागि ८ जीबी र १९९ रुपैयाँमा सात दिनका लागि २० जीबी डाटा उपलब्ध हुनेछ । धेरै डाटा प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै ९९९ र १,४९९ रुपैयाँका अनलिमिटेड प्याकमा क्रमशः ४५० जीबी र ५०० जीबी डाटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
ग्राहकको प्रयोगलाई सहज बनाउन स्वतः नवीकरण हुने नमस्ते रिकरिङ सेवामा नयाँ ६९९ रुपैयाँको प्याक थपिएको छ । त्यस्तै, कर्पोरेट युजर ग्रुप (CUG) अन्तर्गत पनि नयाँ आकर्षक प्याकेज सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमले नमस्ते क्रेडिट (सापटी) सेवामा समेत सुधार गरेको छ । साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ पुर्याइएको छ । उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस तथा एसएमएस प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यो सेवा प्रिपेड ग्राहकले *1477# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सक्नेछन् ।
कम्पनीले डाटा र भ्वाइस प्याकका अतिरिक्त बन्डल्ड प्याक, एड-अन प्याक, एसएमएस प्याक तथा एफटीटीएच सेवाका विभिन्न प्याकेजलाई पनि निरन्तरता दिएको जनाएको छ ।
नेपाल टेलिकमका अनुसार मनसुन अफर २०८३ साउन १२ गतेदेखि लागू भएको छ । ग्राहकले *1415# डायल गरी, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेजको विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।






