भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाले काठमाडौं र ललितपुरका बुद्धिजीवी, संस्कृतिकर्मी तथा सम्पदा प्रेमीहरूको टोलीलाई भक्तपुरमा स्वागत गर्दै नगरको सम्पदा संरक्षण, शिक्षा, विकास र पुनर्निर्माणका अनुभवबारे जानकारी गराएको छ।कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्नो गतिविधि र अनुभवलाई भावी पुस्ताका लागि दस्तावेजीकरण गर्ने उद्देश्यले विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आएको बताएका छन् । उनले राजनीतिक दलहरू नैतिकता, सदाचार र सामाजिक उत्तरदायित्व सिकाउने विश्वविद्यालयजस्ता हुनुपर्ने धारणा व्यक्त गरे। उनले भक्तपुरले गरेका कामको प्रचार आफैं भइरहेको उल्लेख गर्दै सुधारको लागि प्रशंसाभन्दा आलोचना आवश्यक हुने बताएका छन्।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक दृष्टिले देशकै समृद्ध नगरमध्ये एक रहेको उल्लेख गर्दै उनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले अघि सारेका शिक्षा सुधारका प्रयास तथा “एक घर, एक स्नातक” अभियानले भक्तपुरको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।
नगर प्रमुख प्रजापतिले भक्तपुरमा सामुदायिक र संस्थागत विद्यालयबीच कुनै विभेद नराखी समान अवसर प्रदान गरिएको उल्लेख गर्दै नगरपालिका देशमै पहिलोपटक आफ्नै कलेज सञ्चालन गर्ने स्थानीय तह बनेको उनी बताउँछन् । उच्च शिक्षालाई प्रोत्साहन गर्न शैक्षिक ऋणको व्यवस्था गरिएको तथा इतिहास, भूगोल, राजनीति शास्त्र, अर्थशास्त्रलगायतका विषय अध्ययन गर्ने नगरबासी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिन् । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रमुख उपलब्धिका रूपमा ख्वप अस्पताललाई प्रस्तुत गर्दै भक्तपुरको अर्को प्रमुख विशेषता पर्यटन रहेको उल्लेख गरे । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणसँगै नगरको मौलिक पहिचान जोगाउँदै विकासका काम अघि बढाइएको उल्लेख गरे । सम्पदा र विकासलाई सँगसँगै अघि बढाउने भक्तपुरको अभ्यास नै नगरको विशिष्ट परिचय बनेको समेत उनी बताउँछन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुरलाई कतिपयले उत्तर कोरियासँग तुलना गर्ने गरेको उल्लेख गर्दै उत्तर कोरियाजस्तो हुनु भन्नु सकारात्मक पक्ष रहेको बताएका छन्। उत्तर कोरियाको विकास र समृद्धि आफूले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाएको उल्लेख गर्दै उत्तर कोरियालाई सुन्दर र व्यवस्थित देशको रूपमा चित्रण गरेका छन्। ख्वप विश्वविद्यालय स्थापनाको प्रयास राजनीतिक पूर्वाग्रहका कारण अघि बढ्न नसकेको उल्लेख गर्दै ख्वप विश्वविद्यालय स्थापनाले भक्तपुरको शैक्षिक तथा बौद्धिक विकासले अझ नयाँ उचाइ हासिल गर्ने उनको विश्वास छ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले टोलीलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर नगरपालिकामा उपप्रमुखका रूपमा कार्य गर्दा नगरको पुनःनिर्माण अभियानमा काम गर्ने अवसर प्राप्त भएको अनुभव सुनाइन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले भूकम्पीय इन्जिनियरिङ र शहरी डिजाइन र सम्पदा संरक्षणजस्ता विषयहरू अध्ययन र अध्यापन गराउँदै आएको उनले उल्लेख गरिन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठले भक्तपुरको अध्ययन तथा अनुसन्धान गर्ने क्रममा आफूहरू यहाँ आएको बताउँदै विदेशी सहयोगबिना भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गरेको कार्य अनुकरणीय रहेको बताएका छन् । उनले भक्तपुरको विकास मोडेलबाट आफूहरू निकै प्रभावित भएको उल्लेख गर्दै यसलाई नजिकबाट बुझ्न र अध्ययन गर्न भक्तपुर अध्ययन भ्रमणमा आफूहरू आएको स्पष्ट पारे । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको परिचय दिँदै नगरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, पुराना र नयाँ बस्तीको योजनाबद्ध विकास, सम्पदा संरक्षण तथा नगरले अवलम्बन गरेका विकासका अभ्यासबारे जानकारी गराएका छन् ।
कार्यक्रममा सहभागीहरूले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शैक्षिक ऋण कार्यक्रम, त्यसको कार्यविधि, लाभग्राही छनोट प्रक्रिया तथा प्रभावकारिताबारे जिज्ञासा राखेका थिए ।
त्यसैगरी, उपभोक्ता अधिकारको संरक्षण तथा बजार अनुगमन कसरी प्रभावकारी रूपमा सञ्चालन गरिएको छ भन्ने विषय र शिक्षा क्षेत्रसँग सम्बन्धित पाठ्यक्रम समयानुकूल परिमार्जन र अद्यावधिक गर्ने विषयमा पनि छलफल भएको थियो ।
सहभागीहरूले भक्तपुरलाई “मानवताको सहर” का रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावकारी ढंगले चिनाउनुपर्ने सुझाव दिँदै भक्तपुरको कला, संस्कृति र सम्पदाले नै नगरको पहिचान निर्माण गरेको उल्लेख गर्दै अन्य स्थानीय तहले पनि भक्तपुरको अनुभवबाट सिक्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
उनीहरूले नेपाल भाषाको लिपि संरक्षण र प्रवर्द्धनमा थप जोड दिनुपर्ने, भाषा र लिपिको संरक्षणले सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने बताउँदै भक्तपुरले नेपालको कला, संस्कृति, सम्पदा र सभ्यताको पहिचान जोगाउन पुर्याएको योगदान उल्लेखनीय रहेको भन्दै त्यसको संरक्षण र प्रवद्र्धनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।
नगर प्रमुख सुनिल प्रजापतिले उपस्थित बुद्धिजीवी, संस्कृतिकर्मी तथा सम्पदाप्रेमीहरूलाई भक्तपुर नगरपालिकाद्वारा प्रकाशित विभिन्न पुस्तक तथा प्रकाशनहरू उपहारस्वरूप प्रदान गरेबा छन् भने, उक्त टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको निरीक्षण तथा अवलोकन भ्रमण गरी त्यहाँ सञ्चालन भइरहेका शैक्षिक, स्वास्थ्य तथा प्राविधिक सेवाबारे जानकारी लिएका छन् ।






