काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले एक जना कोलोम्बियन नागरिक र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको ब्यूरोका सह-प्रवक्ता डिएसपी जीवन निरौलाले जानकारी दिए।
उनका अनुसार असार ३१ गते कोलोम्बियाबाट दोहा हुँदै काठमाडौं आइपुगेको जहाजमा ६२ वर्षीया योनेथ गार्जन काइसेडो आएकी थिइन्। उनी काठमाडौ-१६ ठमेलमा फेला पारी हेर्दा सुटकेसभित्र फल्सबटम बनाइ ब्लाङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलो भित्र सिलिकोनमा मिसाइएको ४ किलो २५८ ग्राम कोकिन फेला परेको थियो । डिएसपी निरौलाका अनुसार लिक्वीट कोकेन सिलिकनसँग मिश्रण गरी कपडाको आकार बनाएर ल्याउने ट्रेन्ड सुरू भएको हो।
कोलम्बियन नागरिक योनेथ गार्जनले ल्याएको कोकेनबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले सोही कोकेन लिन आएकी भारत मणिपुरबाट आएकी रेबेक्का पुल्ली पनि पक्राउ गरेको छ। उनलाई आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। प्रहरीले ४ किलो २५८ ग्राम कोकेन, पासपोर्ट १ थान, भारतीय निर्वाचन आयोगको कार्ड १ थान, २०० अमेरिकन डलर, मोबाइल ४ थान र सुटकेस १ थान बरमद गरेको जनाएको छ । 






