काठमाडौं, १३ मंसिर । ठमेलबाट ३ किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो । उनले साथमा ल्याएको ह्यान्ड ब्यागेजको फल्स बटम बनाएर लुकाइएको अवस्थामा ३ किलो कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त कोकिन लिन काठमाडौं आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि पक्राउ परेका छन् ।
ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा दक्षिण कोरियाली नागरिक लीले पेरुबाट कोकिन काठमाडौं ल्याउने र भारतीय नागरिक वाघमारेले काठमाडौं हुँदै भारतको मुम्बई पुर्याउने योजना बनाएको खुलेको छ ।
ली सन् २०२६ नोभेम्बर २६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएका थिए । यसअघि पनि उनी सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलस्थित एक होटलमा तीन दिन बसेपछि दक्षिण कोरिया फर्किएको अभिलेखबाट देखिएको छ । पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको ब्युरोले जनाएको छ । कोकिन लुकाइएको सुटकेस दिने र लिने क्रममा पासवर्ड प्रयोग भएको समेत अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले दुवै जनाको साथबाट एक थान राहदानी, एक थान आधार कार्ड र दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर अन्तर्राष्ट्रिय लागुऔषध कारोबार हुन सक्ने आशंकामा विदेशी नागरिकहरूको आपराधिक गतिविधि तथा पृष्ठभूमिबारे निगरानी र प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेको ब्युरोले जनाएको छ । पक्राउ परेका दुवै विदेशी नागरिकमाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।







