मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा–भीमफेदी सडकखण्डअन्तर्गत सामरीमा सवारीसाधन एकआपसमा ठोक्किँदा हेटौँडा उपमहानगरपालिका-१० का ४२ वर्षीय विनोद लामाको मृत्यु भएको हो।
हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३२ च ०१४१ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक लामा गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै उपचारका लागि लामालाई हेटौँडा अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले पिकअप गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।







