काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बा.३ ख. ८४५९ नम्बरको हायस सोमबार बिहान करिब २:२५ बजे अनियन्त्रित भई बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा हायस चालक इलाम नगरपालिका-६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका-७ की २६ वर्षीया रिता आपागाईं र उनका नौ वर्षीय छोरा रितिक आपागाईं घाइते भएका छन् । उनीहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।
उनका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेँसी र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







