महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १८ असोज । चाँगुनारायण नगरपालिका-८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको छ । आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्काउट झण्डोतोलन गरी स्काउट शिक्षाको आरम्भ गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री थापाले प्रत्येक विद्यालयमा स्काउट शिक्षा अपरिहार्य रहेको र यसले समाजलाई अनुशासित एवम् कर्तव्यनिष्ठ बनाउने भएकाले अभिभावकहरुले स्काउट शिक्षामा पनि बालबालिकाहरुलाई लगाउनुपर्ने बताए । सोही क्रममा मुख्यमन्त्री थापामगरले विद्यालयमा ट्रस निर्माणका लागि थप बजेट उपलब्ध गराउने घोषणा गरे । ट्रस निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरे पनि रकम अपुग भएको जानकारी पाएपछि उनले सोका लागि पहल गर्ने बताएका छन् । ‘बास्केटबल कोर्टको ट्रस निर्माण बजेट अभावमा रोकिने छैन । २५ लाख विनियोजन भइसकेको छ । बाँकी रकम थप गर्न मैले निर्देशन दिइसकेको छु,’ मुख्यमन्त्री थापाले भने ।

मुख्यमन्त्री थापा मगरले भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । भक्तपुरका १७ वटा अस्पतालको क्षमता विस्तार गरी उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने योजना रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री थापाले भक्तपुरलाई शैक्षिक हबका रूपमा विकास गर्न सामुदायिक तथा निजी विद्यालय र कलेजको गुणस्तर सुधारमा जोड दिइने बताए । चाँगुनारायण, नगरकोट, रानीकोट, घ्याम्पेडाँडा र भक्तपुृरका विभिन्न क्षेत्रलाई समेटेर पर्यटन विकासको बृहत् गुरुयोजना बनाउने योजना पनि उनले सुनाए ।

उनका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको स्तरोन्नति प्रदेश सरकारको प्राथमिकतामा छ । विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालयलाई स्थानीय तहसँगको समन्वयमा गाभेर सुविधासम्पन्न आवासीय विद्यालयका रूपमा विकास गरिने उनले बताए ।
दुर्गम क्षेत्रका विद्यार्थीलाई त्यस्ता विद्यालयसम्म पुग्न यातायात सुविधा उपलब्ध गराउने योजना पनि उनले बताए। माध्यमिक तहमा सञ्चालित विद्यालय नर्स कार्यक्रमलाई प्रभावकारी बनाउँदै विद्यार्थीको मानसिक स्वास्थ्यमा समेत ध्यान दिइने उनले बताए । ‘विद्यार्थीमा देखिने मानसिक समस्या, डिप्रेसन र एन्जाइटी न्यूनीकरण गर्न विशेषज्ञ मनोचिकित्सक र मनोवैज्ञानिक काउन्सिलर परिचालन गरिनेछ,’ उनले भने । कार्यक्रममा स्काउट प्रशिक्षक पूर्ण दुवाल र रत्ना चवालसहितको टोलीले विद्यार्थीलाई स्काउटसम्बन्धी आधारभूत सीप सिकाएको थियो । विद्यार्थीलाई स्काउट ताली, पञ्च ताली, स्काउट संकेत, स्काउट प्रणाम तथा डोरीको प्रयोगबाट उद्धार गर्ने विधि सिकाइएको थियो ।

आपत्कालीन अवस्थामा इनार, पहिरो तथा अन्य जोखिमपूर्ण स्थानबाट उद्धार गर्न प्रयोग हुने गाँठो बाँध्ने अभ्याससमेत गराइएको थियो । विद्यार्थीले स्काउटका १० नियम र तीन प्रतिज्ञालाई आत्मसात् गर्दै अनुशासित, साहसी र सेवाभावी नागरिक बन्ने प्रतिबद्धता जनाएका थिए । मुख्यमन्त्री थापाले पछिल्लो समय बाढीपहिरोलगायतका विपद्का घटनामा स्काउट स्वयंसेवकले पुर्‍याएको योगदानको प्रशंसा गरे । विपद्का समयमा उद्धार तथा प्रभावितको सेवामा स्काउट अग्रपंक्तिमा खटिएको उल्लेख गर्दै विद्यालय तहबाटै विपद् व्यवस्थापन र प्राथमिक उपचारका सीप सिकाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता शिवराज तिमल्सिनालाई चाँगुनारायण-८ का स्थानीय बासिन्दाका रूपमा समेत सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठ र व्यवस्थापन समिति अध्यक्ष रामकुमार बुढाथोकीले माला र सम्मान पत्र प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुढाथोकीले वि.सं. २०१५ मा स्थापना भएको महेन्द्र ग्राम माविले सुडाल र आसपासका क्षेत्रमा लामो समयदेखि शैक्षिक सेवा दिँदै आएको बताए। ‘ट्रस निर्माण पूरा भएपछि हाम्रा बालबालिकाले घामपानी नभनी सुरक्षित वातावरणमा खेलकुद र अतिरिक्त क्रियाकलाप गर्न पाउनेछन्,’ उनले भने।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समुदायका प्रतिनिधिको सहभागिता थियो।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...