काठमाडौं, १८ असोज । विपद्पछिको पुनर्निर्माणलाई दिगो बनाउन बागमती प्रदेश र राष्ट्रिय प्राधिकरणबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती र बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्रीबीच विपद्पछिको पुनर्स्थापना, एकीकृत भूमि विकास र बस्ती व्यवस्थापनका विषयमा आइतबार छलफल भएको हो ।
उक्त छलफलमा पूर्वाधार पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच चुस्त समन्वय कायम गर्दै आवश्यक कार्यढाँचा निर्माण गर्ने सहमति भएको छ। बैठकले प्रभावित समुदायको आवश्यकता र स्थानीय परिस्थितिलाई पहिलो प्राथमिकतामा राख्दै ‘सुरक्षित र सबल पुनर्निर्माण’ को अवधारणा अनुसार अघि बढ्ने निर्णय गरेको छ। आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका रणनीतिहरूलाई प्रदेशको समग्र विकास योजनासँगै एकीकृत गरेर लैजाने विषयमा विशेष जोड दिइएको छ।
भौतिक निर्माण मात्र होइन, जनजीविकाको पनि पुनरुत्थान छलफलमा सहभागी सबै पक्षले अब सञ्चालन गरिने कार्यक्रमहरू केवल इँटा र सिमेन्टको पुनर्निर्माणमा मात्र सीमित हुन नहुनेमा एकमत रहेको मुख्यमन्त्री थापा मगरले जनाएका छन्। विपद् प्रभावित नागरिकहरूको जनजीविकाको पुनरुत्थान र दिगो व्यवस्थापनसहितका कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा उनीको जोड थियो। यस छलफलले आगामी दिनमा बागमती प्रदेशमा विपद् पछिको पुनर्स्थापनालाई थप योजनाबद्ध, सुरक्षित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।







