काठमाडौं, १८ असोज । हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यासमा आधारित नाटक ‘एक चिहान’ को असोज १६ गतेदेखि कान्तिपुर थिएटरमा मञ्चन सुरु भएको छ। नाट्य शालाको प्रस्तुतिमा नकुल पौड्यालको निर्देशन रहेको नाटकले सामाजिक अन्याय, गरिबी, वर्गीय विभाजन, पारिवारिक उल्झन र मानवीय पीडालाई रंगमञ्चमा प्रस्तुत गर्छ। नाटकको मूल पात्रले जीवनभर सामाजिक अन्याय, अपमान र निराशासँग संघर्ष गर्छ।
उसको व्यक्तिगत पीडा विस्तारै समाजकै सामूहिक पीडाको प्रतिनिधि बन्न पुग्छ। गरिबी र वर्गीय विभाजनले मानिसको जीवन र सम्बन्धमा पार्ने प्रभावसँगै अपमानबाट जन्मिने न्यूनताबोध, दबिएका चाहना, असफलताबाट आउने मानसिक आघात र अस्तित्वको प्रश्नलाई नाटकले मञ्चमा उतारेको छ।
‘एक चिहान’ बाहिरी घटनामा मात्र केन्द्रित छैन। पात्रहरूको मनोवैज्ञानिक अवस्था, उनीहरूले भोग्ने सामाजिक दबाब र त्यसबाट उत्पन्न मानसिक द्वन्द्वलाई पनि नाटकले प्रस्तुत गर्छ।
त्यसैले यो प्रस्तुति मनोरञ्जनमा मात्र सीमित नभई दर्शकलाई आफ्नै जीवन, समाज र सम्बन्धबारे सोच्न बाध्य बनाउने रंगमञ्चीय अनुभवका रूपमा प्रस्तुत गरिएको छ।
कक्षा १२ को नेपाली पाठ्यक्रममा समेत समावेश रहेको ‘एक चिहान’ विद्यार्थी र युवा पुस्ताका लागि विशेष चासोको विषय बन्न सक्छ। पुस्तकमा पढेको कथालाई प्रत्यक्ष रंगमञ्चमा हेर्न पाउँदा साहित्यिक विषयवस्तुलाई पात्र, संवाद, अभिनय र दृश्यमार्फत बुझ्ने अवसर मिल्नेछ। सामाजिक, मनोवैज्ञानिक र दार्शनिक पक्षसमेत समेटिएको नाटकले दर्शकलाई ‘जीवनको मूल्य के हो ?’ भन्ने प्रश्नसम्म पुर्याउने प्रयास गरेको छ।
नाटकमा पुजा तामाङ, गोपाल महतारा, शक्ति पौडेल, बिपना थिङ, पुष्पेन्द्र खड्का, कुशल बास्कोटा, सञ्जय विश्वकर्मा, रुपा थापा र सरस दाहाललगायत कलाकारको अभिनय रहेको छ। नाटक बुधबारबाहेक हरेक दिन साँझ ५:३० बजे मञ्चन हुनेछ। सार्वजनिक बिदाका दिन दिउँसो १:३० बजे पनि अतिरिक्त प्रदर्शन हुनेछ।







