काठमाडौं, १८ असोज । नेपालका ऐतिहासिक लिपि तथा समकालीन क्यालिग्राफी (अक्षर कला) को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु भएको छ। क्यालिजात्रा फाउन्डेसन र क्यालिग्राफी नेपालको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (नाफा) को सहकार्यमा यस बृहत् महोत्सवको आयोजना गरिएको हो।
काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको परिसरमा आज सन् २०२६ अक्टोबर ३ तारिखमा यस महोत्सवको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल उपस्थित भएकी छन्। पाँच दिनसम्म चल्ने यो महोत्सव अक्टोबर ७ तारिखसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
प्रदर्शनीमा नेपालका प्राचीन तथा ऐतिहासिक लिपिहरू-पूर्व-लिच्छवि, उत्तर-लिच्छवि (कुटिला) तथा नेपाल लिपिमा लेखिएका ऐतिहासिक अभिलेख, शिलापत्र र पाण्डुलिपिका उतारहरू अवलोकनका लागि राखिएका छन्। यसका साथै प्राचीन ब्राह्मी लिपि तथा विभिन्न कालखण्डका मौलिक लिपिहरूको कलात्मक स्वरूप पनि प्रस्तुत गरिएको छ।
महोत्सवका दौरान क्यालिग्राफी प्रदर्शनी, प्रत्यक्ष क्यालिग्राफी (Live Calligraphy) प्रस्तुति, कार्यशाला, प्रत्यक्ष कविता वाचन र कला सामग्री पसल (Art Shop) सञ्चालनमा ल्याइएका छन्। साथै, लिपिहरूको डिजिटलाइजेसनलाई प्रवर्द्धन गर्न नयाँ एप तथा डिजिटल फन्टहरूको विमोचन समेत गरिएको छ।
नेपालको समृद्ध लिपि परम्परालाई जनसमक्ष पुर्याउन, नयाँ पुस्तामा यसप्रति रुचि जगाउन तथा यसको उचित अभिलेखीकरण गर्न यो महोत्सवले महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्।







