काठमाडौं, १५ असोज । काठमाडौं महानगरपालिकाले सुत्केरीका घरमा पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरको आन्तरिक स्रोतबाट सुत्केरी भएपछि आमा र नवशिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा हेरचाहको लागि अभियान थालेको हो । सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म पुग्नु पर्ने बाध्यताका कारण उत्तर प्रसुति स्याहारमा चुनौती भएपछि महानगरपालिकाले यो सेवालाई आन्तरिक स्रोतबाटै प्रारम्भ गर्ने भएको हो । यो ‘उत्तर प्रसुति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ का नामबाट सञ्चालन हुनेछ । अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा जन्मिएपछि आमा र शिशु सुरक्षित छन् भन्ने मात्र पर्याप्त हुँदैन । त्यसपछिका केही दिनलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्छ । कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्नेछन् ।
सुत्केरीपछिको अवस्थामा आमामा रक्तस्राव, संक्रमण, उच्च रक्तचापलगायतका समस्या देखिने र नवशिशुमा पनि विभिन्न स्वास्थ्य जटिलता आउन सक्ने भएकाले यी जटिलता समयमा पत्ता लगाएर स्वास्थ्य जोखिम घटाउनु कार्यक्रमको उद्देश्य रहेको जनाएको छ । घरभेटका क्रममा स्वास्थ्यकर्मीले समस्या पहिचान गरेर आवश्यकताका आधारमा व्यवस्थापन गर्ने र थप उपचार आवश्यक देखिएमा सम्बन्धित अस्पतालमा पठाउनेछन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसुतिपछिको पहिलो दुई दिनमा आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण पाउने दर ७० प्रतिशत छ । स्वास्थ्य संस्थामा प्रसुति भएका महिलामा यो दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसुति भएकामा २३ प्रतिशत छ ।
२०८०/०८१ मा काठमाडौं महानगरपालिकाभित्र १ दशमलव १८ प्रतिशत महिलाले २ पटकसम्म घरमै सुत्केरी जाँच गराएका थिए । आ. व. २०८१/०८२ मा ११ दशमलव १८ प्रतिशत पुगेको यो दर आ. व. २०८/०८३ मा पुग्दा ४ दशमलव ७१ मा झर्यो । यसरी घटेको दरलाई बढाउँदै लगेर उत्तर प्रसुति अवस्थाका महिला र नवजात शिशुमा देखा पर्ने जटिलता घटाउन कार्यक्रम अगाडि बढाइएको कार्यक्रमका फोकल पर्सन सिनियर अ.न.मि. निरीक्षक चन्द्रा भट्टले जानकारी दिइन् ।
कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण सम्पन्न गरिएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई २ समूहमा विभाजन गरेर घरभेट कार्यक्रमको विधि, गर्नु पर्ने काम लगायत विषयमा जानकारी प्रदान गरिएको छ । ” सहरी क्षेत्रमा स्वास्थ्य संस्था नजिकै हुन्छन् । तर, परिवारमा सहयोग गर्ने सदस्यको अभाव, काममा फर्किनुपर्ने अवस्था, घरायसी जिम्मेवारी तथा ‘अस्पतालबाट डिस्चार्ज भएपछि समस्या छैन’ भन्ने बुझाइले पनि उत्तर प्रसुति जाँच छुट्न सक्ने अवस्था हुन्छ,” स्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य नर्सिङ् निरीक्षक अम्बिका पाण्डेले भनिन्, “यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफैँ घरमा पुग्ने प्रणालीले सेवा नलिएका परिवार पहिचान गर्न सहयोग पुग्छ । यो महानगरपालिकाले सञ्चालन गर्ने कार्यक्रममध्ये महत्वपूर्ण कार्यक्रम हो ।”
महानगरले कार्यक्रमलाई केवल स्वास्थ्य परीक्षणमा सीमित नगरी सुत्केरी आमा र नवजात शिशुको स्याहार, स्वास्थ्य सम्बन्धी परामर्श तथा आवश्यक जानकारीसमेत दिने तयारी गरेको छ । घरभेटका क्रममा प्रयोग गरिने चेकलिस्टमा आमा र नवजात शिशुको स्वास्थ्य जाँच तथा सुत्केरी परामर्श समेटिने व्यवस्था गरिएको छ ।
सुक्ष्म योजना र स्वास्थ्य संस्थागत तथ्यांकका आधारमा कार्यक्रम सञ्चालन हुनेछ । समय, स्वास्थ्य संस्था र बस्ती बिचको पहुँच, उपलब्ध जनशक्ति तथा मातृ-नवजातशिशु स्वास्थ्य सेवाको अवस्थाको विवरणका कार्यक्रमका सञ्चालनका आधार हुन् । नेपालले सन् २०३० सम्ममा मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा ७० र नवजात शिशुको मृत्यु दर प्रति हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ । राष्ट्रिय जनगणना २०७८ (२०२१) बमोजिम नेपालमा प्रति लाख जीवित जन्ममा १५१ जना आमाहरु गर्भवती भएकै कारण ज्यान गुमाउन बाध्य छन् भने ६१५ मृत्यु सुत्केरी अवस्थामा हुने गरेको छ ।







