काठमाडौं, १५ असोज । ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहीबार कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठ र परिषद्का तर्फबाट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।अस्पतालमा पहिलो पटक जाँच गर्ने ज्येष्ठ नागरिक कार्यक्रमको मूल्याङ्कन सूचक रहेको महानगरकी कार्यबाहक प्रमुख डंगोलले बताइन् । ‘अस्पताल आउने गर्नु भएका ज्येष्ठ नागरिकको सेवालाई अझ सहज र सरल बनाउँदै लैजानु पर्छ,’ उनले भनिन्, ‘रोग सहेर घरमै बसिरहने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनु चाहिँ कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन सूचक हो ।
सेवाग्राहीको उमेर, लिङ्ग, शारीरिक अवस्था, प्रदान गरिएका सेवा लगायत सबै विवरण राखेर मासिक प्रतिवेदन पेश गर्नुहोला ।’
ज्येष्ठ नागरिक दिवसको सन्दर्भ र महानगरपालिकाले गरेका कामका विषयमा जानकारी गराउँदै डंगोलले आरोग्य रहने वातावरण बनाउन, सक्रिय जीवनका लागि सहयोग प्रदान गर्न, स्वास्थ्योपचारका लागि जानु पर्ने भए सरल र सहज पहुँच निर्माण गर्न महानगरपालिकाले गरेका कामसँग सम्बन्धित विषय प्रष्ट पारिन् । ‘घर-घरमै स्वास्थ्य सेवा दिने क्रममा २ हजार ७५ ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य जाँच गरेका छौँ,’ उनले भनिन्, ‘छत्रपाटी निःशुल्क चिकित्सालयमार्फत १४ हजार ५४३ पटक, डल्लु सामुदायिक स्वास्थ्य परिषदमार्फत १ हजार २१५ जनालाई निःशुल्क स्वास्थ्य जाँच गराएका छौँ । ३ हजार ३ सय जना ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप सेवा प्रदान गरेका छौँ । वडाहरुबाट १० हजार बढी ज्येष्ठ नागरिकलाई तीर्थाटन गराएका छौँ ।’
महानगरले ज्येष्ठ नागरिकका लागि १० वटा ज्येष्ठ नागरिकमैत्री पार्क सञ्चालनमा ल्याएको छ भने, १२ हजार ३८३ ज्येष्ठ नागरिकलाई वार्षिक प्रति व्यक्ति १२ हजार रुपैयाँ पोषण भत्ता प्रदान गरिएको, ५ हजार ३९७ जना ज्येष्ठ नागरिकलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको जनाएको छ ।







