काठमाडौं, १५ असोज । संघीय निजामती विधेयकमा महिला कर्मचारीलाई महिनावारी बिदा दिने प्रस्ताव गरिएको छ ।
आज संसद्मा दर्ता भएको संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । विधेयकको १२५ नम्बर बुँदामा रहेको निजामति कर्मचारीले पाउने बिदामा ‘महिनावारी/रजस्वला बिदा’ पनि थप गरिएको छ ।
हालसम्म निजामती सेवामा पनि छुट्टै ‘रजस्वला बिदा’को व्यवस्था देखिँदैन । प्रचलित बिदामा बिरामी, प्रसूति, प्रसूति स्याहारलगायत मात्रै छन् । श्रम ऐन, २०७४ मा पनि महिला श्रमिकका लागि बिरामी बिदा, प्रसूति बिदा लगायतका बिदाको मात्रै व्यवस्था छ ।







