भक्तपुर, १२ असोज । नेपाल ट्रष्टको नाममा रहेको भक्तपुर नगरपालिका-१ सल्लाघारीको १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि उपलब्ध गराउनु पर्नेमा भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिको जोड छ । सोमबार भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रष्ट कार्यालय सञ्चालक समितिका पदाधिकारीहरूको भेटमा उनले उक्त अभिव्यक्ति दिएका हुन् । नेपाल ट्रष्ट कार्यालयका सहसचिव सुमन घिमिरेको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले नगर प्रमुखसँग भेटघाट गरेका थिए ।
उक्त भेटघाटका क्रममा भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको संरक्षण तथा व्यवस्थापनका विषयमा छलफल भएको छ । नगर प्रमुख प्रजापतिले नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गा भक्तपुरबासीको हितलाई ध्यानमा राखी अधिकतम सदुपयोग गर्ने उद्देश्यले नगरपालिकाले जग्गाको संरक्षणका लागि पर्खाल निर्माणलगायतका कार्य गरी व्यवस्थित गर्दै आएको जानकारी दिए । उनले ख्वप विश्वविद्यालय स्थापनाको लागि १०८ रोपनी जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
नगरप्रमुख प्रजापतिले नेपाल ट्रष्ट नियमावली, २०६४ को नियम ३ को उपनियम २(क) मा नेपाल ट्रष्टको सम्पत्ति प्रयोग गर्दा विद्यालय, महाविद्यालय वा विश्वविद्यालयजस्ता शैक्षिक संस्था स्थापना गरी सञ्चालन गर्न वा गराउन सकिने प्रावधान रहेको उल्लेख गर्दै उक्त कानुनी व्यवस्थाले शैक्षिक संस्थाको स्थापना तथा सञ्चालनका लागि नेपाल ट्रष्टको सम्पत्ति उपयोग गर्न सकिने आधार रहेको बताएका हुन् । १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाउन २०६४ जेठ १० गते, २०६८ पुस २५ गते तथा त्यसपछि पनि पटक–पटक प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालयमा निरन्तर पहल गर्दै आएको समेत बताए।
साथै, सर्वसाधारण जनताका छोराछोरीलाई सुलभ शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्ने उद्देश्यले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय स्थापना गर्ने पहल भइरहेको र उक्त जग्गामा विश्वविद्यालय स्थापना गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिए । नेपाल ट्रष्ट कार्यालयका सहसचिव सुमन घिमिरेले भक्तपुर नगरपालिका-१, सल्लाघारीस्थित १०८ रोपनी जग्गाको संरक्षण राम्रोसँग भइरहेको बताउँदै नेपाल ट्रष्टको स्वामित्वमा रहेका सम्पत्तिको उपयोग, संरक्षण तथा प्रवर्द्धनका लागि अध्ययन टोली गठन गरी सम्भावित उपयोगका क्षेत्रहरूको पहिचान गर्ने कार्य भइरहेको जानकारी दिए । साथै, ट्रष्टअन्तर्गतका जग्गाहरूको व्यावसायिक सम्भाव्यता अध्ययन गरी उपयोग गर्ने तथा यसका लागि नेपाल ट्रष्ट कार्यालय र भक्तपुर नगरपालिकाबीच आपसी समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताए ।
भेटघाटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्र, नेपाल ट्रष्ट कार्यालयका उपसचिव श्री सोमराज बराल, बोर्ड सदस्य ध्रुव चालिसे र जग्गा सदुपयोग अध्ययन समितिका संयोजक सुयोग रेग्मी, पूर्वाधार सचिवालयका सन्दिप पन्थी तथा इन्जिनियर शुभम गुप्ता, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।
तस्बिर : भक्तपुर नगरपालिका ।







