ललितपुर, ०६ असोज । ग्यासमा कालोबजारीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँका ४७ वर्षीय सरोज नेम्कुल छन्। पसलमा भएका ग्यास सिलिण्डरहरुको सिलबन्दी खोली सबै सिलिन्डरहरु रित्तो हो भनि कृतिम अभाव श्रृजना गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटो तथा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले नेम्कुललाई पक्राउ गरेको हो । नेम्कुलले सिद्धीपुर ग्यास स्टोर संचालन गर्दै आएका छन् ।
उक्त ग्यास स्टोर खानतलासी गर्दा २ वटा सिल सहितको र २२ वटा सिल नभएको भरी ग्यास सिलिन्डर फेला पारी बरामद गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए । ग्यास स्टोर संचालक नेम्कुललाई पक्राउ गरी प्रहरी वृत्त सातदोबाटोमा ल्याई ग्यासको कृतिम अभाव सृजना गर्न नहुने कसूरमा म्यादथप गरी अनुसन्धान थालेको उनले बताए ।







