मकवानपुर, ०८ भदौ । बागमती प्रदेश सरकार गठन तथा राप्रपाभित्र उत्पन्न विवादलाई लिएर उच्च अदालत पाटन, हेटौंडा इजलासमा दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ। विपक्षीहरुलाई १५ दिनभित्र कारण पेश गर्न भनेको हो।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले अधिवक्ता मोहन प्रसाद ढकाल र राप्रपा सांसद कुमारी तामाङद्वारा दायर छुट्टाछुट्टै दुई रिट निवेदन प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।
थापाको नियुक्तिलाई मान्यता नदिन माग गर्दै परेको रिटमा मंगलबार दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि बोलाएको छ। मुख्यमन्त्री थापाले सोमबार नै विश्वासको मत लिन लागेका छन्। आदेशले उनलाई विश्वासको मत लिन तत्कालका लागि बाटो खोलेको छ।
एमाले नेकपा समर्थित सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा राप्रपाभित्र चरम विवाद उत्पन्न भएको छ। कारबाहीमा परेका संसदीय दलका नेता उद्धव थापा पक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका छन् भने अर्को पक्ष प्रस्ताव प्रस्तुत हुँदा विपक्षमा मतदान गर्न भनेका छन्।







