मकवानपुर, ०३ भदौ । बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापाको नेतृत्वमा नयाँ सरकार गठन हुने पक्का भएको छ। सदनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई समर्थन गर्ने भएपछि एमाले नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो। स्रोतका अनुसार राप्रपा तत्काल सरकारमा सहभागी भने नहुने भएको छ।
केन्द्रीय तहमा भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएको थियो। तर, एमालेभित्र मुख्यमन्त्री को बन्ने भन्ने विवादका कारण सरकार गठन प्रक्रिया अलमलमा परेको थियो। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जेएन थपलियालाई दलको नेतामा कायमै राख्ने र मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने सहमति गरेपछि सरकार गठनको प्रक्रिया अघि बढेको हो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेकपाका २६, एमालेका २५ र राप्रपाका १२ सांसद छन्। यी तीन दलको समर्थन सरकार गठनका लागि पर्याप्त हुनेछ।
कांग्रेसले एमालेसँगको सत्ता सहकार्य तोडेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिइसकेका छन्। उनको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका छन्। सोहीअनुसार नेकपा, एमाले र राप्रपाले संयुक्त रूपमा सरकार गठनको दाबी गर्ने तयारी गरेका छन्।
एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। सरकार जोगाउन उनले हाम्रो नेपाली पार्टी, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को समर्थन जुटाउने प्रयास गरे पनि आवश्यक समर्थन नजुटेपछि राजीनामा दिएका थिए। प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।






