भक्तपुर, २८ साउन । थापाथलीस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हीरालाल पासवान मृत भेटिएका छन् ।
सरकारले सुकुम्बासी बस्ती भत्काएपछि उनी विस्थापित भएर कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रस्थित होल्डिङ सेन्टरमा पुगेका थिए । २७ असारमा होल्डिङ सेन्टरभित्रै बाढी पसेपछि सरकारले उनीहरूलाई बोडेस्थित कृषि विकास तालिम केन्द्रको होल्डिङ सेन्टरमा पुर्याएको थियो ।
हिरालाल छोरा र २ नातिनी गरी ६ सदस्यसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । हीरालालका छोरा रवि ज्याला मजदुरीको काम गर्दै आएका छन् । उनले थापाथली बस्तीमा हुँदा बाबु वरपर बदाम बेच्ने गरेको र विस्थापित भएपछि कामविहीन भएको बताए । उनले भने, ‘हामी शोकमा छौं । अहिले धेरै बोल्न सक्ने अवस्थामा छैनौं ।’
हीरालालका छिमेकीहरूका अनुसार परिवारसँग बस्दै आएका उनी होल्डिङ सेन्टरको अनिश्चित बसाइबाट आत्तिएका थिए । मृतकका आफन्त पुनमदेवी पासवानका अनुसार हीरालाल केही समययता सरकारले दिने भनेको जग्गा पाउने सूचीमा आफ्नो नाम नआएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सूर्यबहादुर खड्काले प्रारम्भिक अनुसन्धानमा उनी हीरालाल कोठाभित्र मृत फेला परेको बताए । छोराले खाना खान बोलाउने बेलामा हीरालाल मृत अवस्थामा भेटिएका थिए । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका प्रवक्ता स्मिता आचार्यले हीरालाल २०६३ सालयता थापाथली सकुमवासी बस्तीमा बस्दै आएको जानकारी दिइन् ।






