काठमाडौं, २५ पुस । कम्पनीको कागजात दुरुपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका-७ का १९ वर्षीय क्रमिक उप्रेती छन् ।
उप्रेतीले ‘वाइड स्पेश इन्टरनेशनल प्रा.लि. का नाममा आन्तरिक राजश्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (PAN) लगायतका कागजातहरुको दुरुपयोग गरी ईसेवा, मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानूनी रुपमा आर्थिक कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ईसेवा मर्चेन्ट आईडी २२२२०२००१८२१७५२७ बाट ५६ लाख ३३ हजार ६ सय ३ दशमलव ७६ रूपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ दशमलव ७६ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले जानकारी दिए । पक्राउ परेका उप्रेतीको साथबाट प्रहरीले ल्यापटप थान-१, मोबाइल थान-२, एनसेलको सिम कार्ड थान-१६, नमस्तेको सिम कार्ड थान-, स्मार्ट कार्ड थान-१, पेन ड्राईभ थान-१, मेमोरी कार्ड थान-१ बरामद गरेको छ ।
उनलाई बैंकिङ कसुर र सट्टेबाजी जन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको एसपी आचार्यले बताए ।



