काठमाडौं, ०२ मंसिर । क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका ४ वटा विद्युतीय गाडीमाथि प्रहरीले कारबाही गरेको छ । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भीमफेदी र मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले मंगलबार सवारीसाधन चेकजाँच गर्ने क्रममा सवारी दर्ता किताबमा उल्लेखित क्षमता भन्दा बढी सिट जडान गरिएका गाडी फेला पारेको छ । यसरी निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने व्यवस्था गरिएको पाइएपछि प्रहरीले सवारीसाधनमा जडान गरिएका अतिरिक्त सिटसमेत हटाएको छ ।
यही कात्तिक २६ गते१४ सिटे विद्युतीय माइक्रोबस दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने, ६ जना घाइते भएका थिए । दुर्घटनामा परेको उक्त गाडीले २० जना यात्रु बोकेको थियो । सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण पनि दुर्घटना भएको अनुमान गरिएको छ ।
हेटौंडा-काठमाडौं सडकखण्डमा सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ले निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने र अवैध रूपमा अतिरिक्त सिट जडान गरी सञ्चालन गर्ने गरेकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यस्ता गाडीका चालकलाई कारबाही गर्न थालेको छ । पछिल्लो समय हेटौंडा-काठमाडौं सडकखण्डमा बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि प्रहरीले सवारी जाँचमा तीव्रता दिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रतिगाडी १० हजार रुपैयाँका दरले चारवटै सवारीसाधनलाई ४० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारकर्मीको रोहबरमा अतिरिक्त सिट निकालिएको थियो । कारबाहीमा पर्ने सवारीसाधनमा बा.प्र. ०८-००१ ज ००४२, बा.प्र. ०१-००२ ज ६२३९, बा.प्र. ०१-००२ ज ७००६ र बा.प्र. ०१-००२ ज ६९८१ नम्बरका ईभी रहेका छन् ।







