काभ्रेपलान्चोक, ०५ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शुक्रबार काभ्रेपलाञ्चोकको पनौती नगर अस्पतालको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिएका छन् ।
मुख्यमन्त्री थापा मगरले नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आवश्यक सुधार, सेवा विस्तार तथा व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने विषयमा समेत छलफल गरेका छन् ।
साे क्रममा उनले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल र व्यवस्थापन सुधार गर्नुपर्नेमा जोड दिएका छन् । यसकाे लागि प्रदेश सरकारले आवश्यक सहयाेग गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन् ।







