काठमाडौं, २१ कात्तिक । महानगर प्रहरी बलले काठमाडौँका विभिन्न ठाउँबाट प्लाष्टिकजन्य ३३६ वटा माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ । काठमाडौँ महानगर प्रहरी बल र महानगरपालिकाकै वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना प्रकाशन गरेर यस्ता वस्तु विक्रीका लागि निषेध गरेको थियो । सूचनालाई वेवास्ता गर्दै प्लाष्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामान बिक्री गर्ने व्यापारीबाट प्लास्टिकका माला तथा पुष्पागुच्छा जफत गरिएको हो । यसरी सामान बेच्ने व्यापारीहरु चावहिल मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, कोटेश्वर पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क, धुम्बाराहीलगायत स्थान छन् । जफत गरिएका सामानमध्ये सबैभन्दा धेरै कोटेश्वर र कोटेश्वर पानीपुरी चोकमा बिक्री भइरहेका सामान छन् ।
महानगर प्रहरी बलले नगर प्रहरीको सेवालाई नागरिकका नजिक पुर्याउने उद्देश्यले महानगरको भूगोललाई ४ क्षेत्रमा विभाजन गरेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएर बजारको नियमित निगरानी र अनुगमन गरिरहेको छ । यसअन्तर्गत पूर्व क्षेत्र, पश्चिम क्षेत्र, उत्तर क्षेत्र र मध्य क्षेत्रबाट खटिएका टोलीले सहरका विभिन्न स्थानबाट अनधिकृत रुपमा बेच्न राखिएका फूल माला जफत गरेका हुन् ।







