मकवानपुर, ०३ मंसिर । भीमफेदी गाउँपालिका-१ भैंसेमा भएको सुमो दर्घटनामा ३ जनाको मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरका २५ वर्षीया अनुषा लामा, २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र ५० वर्षीय बमबहादुर वाइबा छन्।
त्यस्तै, घाइते हुनेहरुमा सुमो चालक चन्द्रनिगाहपुरकै ३३ वर्षीय कालुमान लोप्चन, १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर छन् । घाइते सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुबाहक सुमो बिहीबार बिहान करिब ८ः३० बजे भीमफेदी-१ भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेर दुर्घटना भएको थियो।







