नवदुर्गा जात्रा व्यवस्थापनका लागि बागमती प्रदेशको १ लाख सहयोग
भक्तपुर, ८ कार्तिक। राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गरेका छन् । उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको समेत सहभागिता रहेको थियो। कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई हर्षित तुल्याएको मुख्यमन्त्री थापाले बताएका छन् ।
कार्यक्रमका अवसरमा श्री नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो। उक्त सहयोग रकमको चेक राष्ट्रपति पौडेल र मुख्यमन्त्री थापाले संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री थापाले नेपालका अमूल्य धर्म, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न वाग्मती प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताएका छन् । उनले मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक सहयोग तथा सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।







