काठमाडौं, ०९ कार्तिक । मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजग रहन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको असर पर्ने भएकाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडी र अरब सागरमा विकसित हुने न्यूनचापीय क्षेत्र तथा चक्रवातले नेपालको मौसममा असर पार्ने देखिएको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। आगामी बिहीबारदेखि यसको प्रभाव देखिन थाले पनि शुक्रबार र शनिबार सबैभन्दा बढी प्रभाव रहने उनले बताइन्। यो अवधिमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भूभागहरूमा बाक्लो हिमपात तथा हिमआँधी आउने सम्भावना समेत रहेकाले पर्वतारोहण वा उच्च क्षेत्रमा नजान आग्रह गरेको पोखेरेलले बताइन्।
त्यस्तै ठूलो बाढी आउने सम्भावना कम भए पनि दुर्गम क्षेत्र र बाटोहरूमा पहिरो जान सक्ने जोखिम रहने विभागले जनाएको छ । पाकेको धानबालीमा मध्यम वर्षा वा हावाहुरीले असर पुर्याउन सक्ने सम्भावना रहेको विभागको भनाइ छ।







