काठमाडौं, २५ असोज । नेपालीको महान् पर्व बडादसैँ आइतबार (असोज २५) देखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ । नौ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादसैँको सुरुआतका रूपमा लिइन्छ ।
हनुमानढोकास्थित दसैँघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । बडादसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरी विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।







