सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र बनाउन साढे ३ करोड अनुदान दिने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ कार्तिक । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र निर्माणलाई प्रोत्साहन गर्न विशेष अनुदान दिने भएको छ। मन्त्रालयले कार्यविधि स्वीकृत गर्दै सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई ९५ लाख रुपैयाँसम्मको अनुदान दिने गरी प्रस्ताव आह्वान गरेको हो।

हालै मात्र ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत भएको छ। सोही अनुरूप योग्य व्यक्ति तथा संस्थाहरूबाट आवेदन आह्वान गरेको हो। यस योजनाअन्तर्गत एउटै चलचित्रले कथा लेखन (स्क्रिप्टिङ), छायाङ्कन (प्रोडक्सन) र सम्पादन (पोस्ट प्रोडक्सन) गरी तीनवटै विधामा गरी अधिकतम ९५ लाख रुपैयाँसम्म अनुदान प्राप्त गर्न सक्नेछन्।

मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार तीन फरक-फरक शीर्षकमा अनुदान उपलब्ध गराउनेछ। जसअनुसार प्रति स्क्रिप्ट लेखनका लागि बढीमा ५ लाख रुपैयाँसम्म अनुदान दिइनेछ। यस्तो अनुदान अधिकतम ५ वटा चलचित्रले पाउन सक्नेछन्।

प्रोडक्सन (छायाङ्कन) का लागि अधिकतम ३ वटा चलचित्रलाई अनुदान दिइने बताइएको छ। यस शीर्षकमा प्रति चलचित्रले बढीमा ७० लाख रुपैयाँ अनुदान पाउन सक्नेछन्। यसैगरी पोस्ट प्रोडक्सन (सम्पादन तथा प्राविधिक काम) का लागि प्रति चलचित्र बढीमा २० लाख रुपैयाँ अनुदान दिइनेछ। यो शीर्षकमा भने अधिकतम ५ वटा चलचित्र छानिन सक्नेछन् ।

अनुदानका लागि छनोट हुन चलचित्रले निश्चित मापदण्ड र सर्तहरू भने पूरा गरेको हुनुपर्नेछ। राष्ट्रिय महत्वका ऐतिहासिक घटनाक्रम, भौगोलिक क्षेत्र, प्राकृतिक सौन्दर्य, सार्वभौमसत्ता, राष्ट्रिय एकता, सामाजिक सद्‍भाव र सांस्कृतिक विविधता जस्ता विषयवस्तुलाई मौलिक तथा सिर्जनात्मक रूपमा प्रस्तुत गरिएको हुनुपर्नेछ। स्क्रिप्ट लेखक नेपाली नागरिक हुनुपर्नेछ भने निर्माता वा निर्देशकले कम्तीमा दुईवटा चलचित्र निर्माण वा निर्देशन गरेको स्व-घोषणा गर्नुपर्नेछ।

चलचित्रको समयावधि कम्तीमा ९० मिनेटको हुनुपर्नेछ भने छायाङ्कन कम्तीमा फोके प्रविधिको क्यामराले गरेको हुनुपर्नेछ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी चलचित्रको काम गर्न भने पाइने छैन। अनुदानको रकमबाट कुनै पनि उपकरण वा सामाग्री खरिद गर्न पाइने छैन। चलचित्रको स्क्रिप्ट नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ। इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३ कार्तिक १० गते) ले २१ दिनभित्र मन्त्रालयमा तोकिएको ढाँचामा आवेदन पेस गरिसक्नुपर्नेछ। आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै चलचित्रको कथा, पटकथा र संवादसहितको पूर्ण स्क्रिप्ट र सोको डिजिटल (सफ्ट) कपी पेस गर्नुपर्नेछ।

यसैगरी प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा स्क्रिप्ट दर्ता भएको प्रमाण, प्रोडक्सन र पोस्ट प्रोडक्सनको हकमा चलचित्र विकास बोर्डबाट निर्माण अनुमति, विस्तृत कार्ययोजना र अनुमानित लागत विवरण समेत संलग्न राख्नुपर्नेछ। यस बाहेक संस्था वा कम्पनी दर्ता, स्थायी लेखा नम्बर (प्यान/भ्याट) दर्ता, करचुक्ता प्रमाणपत्रका साथै मुख्य प्राविधिक तथा कलाकारहरूको व्यक्तिगत विवरण (बायोडेटा) पनि निवेदन साथ समावेश गर्नुपर्नेछ। प्राप्त आवेदनहरूको मूल्याङ्कन सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित मूल्याङ्कन तथा छनोट समितिले गर्नेछ। समितिले सिफारिस गरेका र सम्झौता भएका आवेदकलाई सुरुमा २० प्रतिशत रकम पेस्की/अग्रिम उपलब्ध गराइनेछ। बाँकी रकम सम्झौताका सर्त अनुसार कार्य प्रगति सम्पन्न भई चलचित्र विकास बोर्डको सिफारिस प्राप्त भएपछि किस्ताबन्दीमा भुक्तानी गरिनेछ। आवेदन फाराम र विस्तृत विवरणका लागि मन्त्रालयको वेबसाइट हेर्न सकिनेछ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...