काठमाडौं, १३ असोज । काठमाडौंबाट हेटौंडा जोड्ने कान्ति लोकपथ एक सातापछि संचालनमा आएको छ । लोकपथको ललितपुरतर्फ विभिन्न भागमा गएको पहिरो पन्छाएपछि मंगलबार बिहान पाैने ११ बजेदेखि यातायात संचालनमा आएको छ हो ।अविरल वर्षाका कारण ललितपुरतर्फ ठाउँठाउँमा पहिरो खसेर असोज ७ बाट कान्ति लोकपथ अवरुद्ध भएको थियो । ललितपुरको बागमती गाउँपालिका-३ टार्कुचे, देवीसाँध र छवेलीको पहिरो मंगलबार बिहान पन्छाएपछि सडक संचालनमा आएको कान्ति लोकपथ सडक आयोजना ललितपुरका सूचना अधिकारी ईन्जिनियर उपेन्द्र महताराले बताए।
वर्षा रोकिएपछि सोमबार बिहानदेखि ५ वटा एस्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो । मकवानपुरतर्फको विभिन्न भागमा खसेका पहिरो र अवरोध आइतबार बेलुकासम्म हटाइसकिएको थियो । बाढीपहिरोका कारण बागमती प्रदेशको केन्द्र हेटौंडाबाट राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथबाहेक राजमार्गहरु अवरुद्ध भएकाले त्रिभुवन राजपथलाई सवारी साधनको चाप परेको थियो । पानी पर्न छाडेपछि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटोदुरीको हेटौंडा, कुलेखानी सिस्नेरी, फाखेलका सडक सोमबार बिहानदेखि संचालनमा आएको छ ।







